स्थानीय तहमा अख्तियारको निगरानी


नेपाल समाचारपत्र, बाँके
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविनकुमार घिमिरेले स्थानीय तहको सबै गतिविधि नजिकबाट नियालिरहेको बताउनु भएको छ ।

शनिबार नेपालगञ्जमा अख्तियारको सम्पर्क कार्यालयको उद्घाटन गर्दै प्रमुख आयुक्त घिमिरेले स्थानीय तहको बारेमा आएको सबैभन्दा धेरै उजुरीले त्यहाँ बेतिथि बढेको देखाएकाले आफूहरुले सुक्ष्म तरिकाले निगरानी गरिरहेको बताउनुभयो । ‘विगतमा शिक्षा क्षेत्रका उजुरी धेरै थिए । अहिले स्थानीय तहको बढी छन्, प्रमुख आयुक्त घिमिरेले भन्नुभयो, कानून बनाउनेदेखि सबै काम आफै गर्ने भएकाले स्थानीय तहको काम कारबाही भयावह बनेको छ ।’ उहाँले स्थानीय तहको निर्वाचन प्रणाली नै खर्चिलो भएकाले त्यसलाई पुनरावलोकन गरेर अघि बढ्न आफूले सुझाव दिएको बताउनुभयो ।

प्रमुख आयुक्त घिमिरेले राष्ट्रिय गौरवका आयोजनामा आयोगले हात नै हालिसकेको बताउनुभयो । उहाँले सबै ठेक्कापट्टाका कामहरुलाई पनि समयमा सम्पन्न गर्न चेतावनी दिनुभयो । ‘अब कञ्चनपुरको उपकरण देखाएर ताप्लेजुङमा ठेक्का लिने दिन गए, हामीले ठेकेदार कम्पनीको ठेक्का लिने र काम नगर्ने पुरानो परिपाटीको अन्त्य गर्दैछौ, घिमिरेले भन्नुभयो, सम्झौता अनुसार गुणस्तरीय र समयमा काम हुनुपर्छ । यसमा कुनै सम्झौता हुँदैन ।’

ठेक्का होल्ड गरेर राख्न नदिने घिमिरेले चेतावनी दिनुभयो । ‘ठेक्कालाई होल्ड गरेर रिसर्जको काम गर्न दिइदैन, घिमिरेले थप्नुभयो, ठेक्का दिंदा पनि ठेकेदार कम्पनीको उपकरण, म्यानपावर हेर्न जरुरी छ ।’ उहाँले राष्ट्रसेवक कर्मचारीहरुलाई विगतको कार्यशैली, आचरणमा परिवर्तन गरेर अघि बढ्न सुझाव दिनुभयो । ‘राजनीतिज्ञदेखि कर्मचारीसम्म हामीले सुक्ष्म निगरानीमा राखेका छौं, घिमिरेले चेतावनी दिनुभयो, गलत गर्नेलाई क्षमा दिइदैन ।’

घिमिरेले यो सरकारलाई असफल हुने छुट नरहेको बताउनुभयो । उहाँले कर्मचारीहरुलाई पनि असफल हुन छुट नरहेको बताउनुभयो । ‘विधि सम्मत काम गर्नुस्, मितव्यायी हुनुस्, काममा सम्झौता नगर्नुस्, उपस्थित कार्यालयहरुलाई घिमिरेले निर्देशन दिनुभयो ।
उहाँले अख्तियारले हरेक दिन स्टीङ अप्रेसन गरिरहेको बताउनुभयो । ‘हामीले रहरले स्टीङ अप्रेसन गरेका छैनौ, बाध्यताले गरेका छौं, घिमिरेले भन्नुभयो, यातायात, मालपोत, नापी, बैदेशिक रोजगार, जिल्ला प्रशासनदेखि स्थानीय तहमा हामीले दैनिक निगरानी गरिरहेका छौं ।’ घिमिरेले अहिले अख्तियारको थुनामा २५ जना रहेको जानकारी दिनुभयो ।

सचिव महेश्वर न्यौपानेले अख्तियार साधन स्रोत सम्पन्न हुने अवस्थामा अघि बढेको बताउनुभयो । सात वटै प्रदेशमा कार्यालय, नेपालगञ्जमा सम्पर्क कार्यालय रहेको अख्तियारमा ९ सय १६ जना कर्मचारीको दरबन्दी रहेको सचिव न्यौपानेले जानकारी दिनुभयो । अख्तियारले अंगीकार गरेको तीन खम्बे रणनीतिलाई साकर बनाउन अघि बढेको बताउदै सचिव न्यौपानेले छिट्टै अख्तियारको काम पेपररहित हुने बताउनुभयो ।

अख्तियारका ५ नम्बर प्रदेश बुटवल कार्यालयका प्रमुख एवं सहसचिव रविलाल पन्थले ५ करोड २८ लाख ४५ हजार ५ सय २२ रुपैयामा बनेको अख्तियारको नेपालगञ्ज सम्पर्क कार्यालयले बाँके, बर्दिया र दाङ जिल्लालाई हेर्ने बताउनुभयो । यहाँ २८ जना कर्मचारीको दरबन्दी रहेको छ ।

अख्तियारको देशभरमै एउटा मात्रै सम्पर्क कार्यालय नेपालगञ्जमा राखेको छ । यसअघि धनकुटा र दिपायलमा रहेको सम्पर्क कार्यालय हटाइसकिएको छ । साविकको मध्यपश्चिममै विगतमा भ्रष्टाचारमा धेरै जना रंगेहात बाँकेबाट पक्राउ परेका थिए । प्रमुख आयुक्त घिमिरेले नेपालगञ्ज मात्रै सम्पर्क कार्यालय राखेर अख्तियारले यहाँलाई महत्व दिएको बताउनुभयो ।

नेपालगञ्ज सम्पर्क कार्यालयका प्रमुख उपसचिव गणेश गैरेले क्षेत्राधिकार भित्र पर्ने तीन जिल्लामा आफूहरुले विधि अनुरुप सुक्ष्म तरिकाले निगरानी गर्ने बताउनुभयो ।