मुसहर समुदायका बालबालिका अझै विद्यालय बाहिर


बुद्ध नेपाली, सिन्धुली
सरकारले विगत वर्षहरुदेखिनै ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने मुल नाराका साथ हरेक शैक्षिक शत्रको वैशाख २ गतेदेखि देशभर भर्ना अभियान सञ्चालन गर्दै आएको छ । तर सिन्धुलीको दुधौली नगरपालिकाका मुसहर समुदायका बालबालिकाहरु भने अझै विद्यालय बाहिर नै रहेको पाइएको छ । नगरपालिकाका अन्तरगत नगर शिक्षा शाखाका अनुसार नगरभित्र रहेका मुसहर बालबालिकाहरु विद्यालय भर्ना हुननै जाँदैनन् ।

दुधौली नगरपालिका वडा नं. ६, ७, ८, ९, १० र ११ नंम्बर वडामा रहेका सिमान्तकृत मुशहर समुदायका बालबालिका तथा किशोरकिशोरीहरु अझै विद्यालयको पहुँच बाहिर रहेको नगरकी सदस्य रीना सदाले जनाकारी दिईन । नगर भित्रका १२ दशमलव १ प्रतिसत मुसहर समुदायका दलित बालबालिकाहरु विद्यालय बाहिर रहेको पाइएको हो । ‘आर्थीक अवस्था निक्कै कमजोर भएका यस्ता समुदायका बालबालिकाहरु अधिकांस विद्यालय भर्ना नहुने र भर्ना भएकाले पनि प्राथमिक तहसम्म पनि अध्ययन नै नगरी विचैमा विद्यालय छाड्ने गरेका छन्,’ उनले भनिन् ।

मुसहर बालबालिकाहरुले विद्यालयमा पढ्ने इच्छा राखेपनि अभिभावकले विद्यालय पठाउँदैनन् । ‘उमेरले ५÷७ वर्ष भएकाहरु नजिकैका छिमेकी जमिन्दारहरुकोमा काम गर्न बस्छन् । त्यस भन्दा साना उमेरका घरका साना बालबालिकाहरुको रेखदेखका लागि घरमै बस्ने गरेका कारण उनिहरुले पढ्ने इच्छा देखाएपनि विद्यालय भर्ना हुन नपाएका हुन्,’ सदाले थपीन् । सदस्य सदा पनि सोही मुसहर समुदायकी दलित सदस्य हुन् । उनि स्थानीय तहको निर्वाचनमा समावेसी सदस्यबाट निर्वाचित भएकी थिन् ।

यस्ता मुसहर समुदायको नाममा घरघरडेरी केहीपनि छैनन् । उनिहरु कमला लगायतका खोला किनाराको ऐलानी तथा सामुदायिक वनको जग्गामा वर्षौंदेखि बस्दै आएका छन् । झुप्रो फुसको छानाको घरमा गुजरा चलाउँदै आएका मुसहरहरुलाई आफ्ना बालबालिकाहरु विद्यालय भर्ना गराउन नगरले विभिन्न कार्यक्रमहरु तयार पारेपनि सम्भावना नभएको नगरका प्रवक्ता रितेश राउतको भनाई छ ।

सरकारकाले आधारभुत शिक्षालाई निशुल्क र अनिवार्य परेको छ । तर, प्राथमिक उमेर समूहका पाँचदेखि नौ वर्षका ३.१ प्रतिशत र आधारभूत तह कक्षा १ देखि ८ सम्मको पाँचदेखि १२ वर्ष उमेर समूहका नौ प्रतिशत मुसहर बालबालिकाहरु विद्यालय बाहिरनै रहेको एक तथ्याङ्कले देखाएको राउत भनाई छ ।

सरकारले यस्ता समुदायका बालबालिकाहरुलाई विद्यालय भर्ना गराउन निःशुल्क पाठ्यपुस्तक र छात्रवृत्ति वितरण, दिवा खाजा कार्यक्रम, अभिभावक शिक्षा अभियान, वैकल्पिक सिकाइ केन्द्र, अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रम, वैकल्पिक शिक्षा कार्यक्रम, प्राथमिक बाल शिक्षा जस्ता कार्यक्रम सञ्चालनमा ल्याउनु पर्ने स्थानीय पत्रकार तथा अगुवा युवा रविन्द्र भट्टराईको सुझाव छ ।