वनलाई कृषिसँग जोडेर आय आर्जनको माध्यम बनाउनुपर्छः वनमन्त्री गिरी
सीताराम चौधरी, कपिलवस्तु ।
प्रदेश न ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले वनलाई कृषि क्षेत्रसँग जोडेर आयआर्जनको माध्यम बनाउनुपर्नेमा जोड दिनुभएको छ । गौतमबुद्ध डिभिजन वन कार्यालय कपिलवस्तुको उद्घाटन गर्दै मन्त्री गिरीले वन जन्य जडीबुटीहरुको उत्पादनलाई प्राथमिकता दिएर वनलाई सम्बद्र्धन र संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभएको हो । नेपाल सरकारको निर्णय बमोजिम प्रदेश मन्त्रालयको मातहतमा रहने गरी कपिलवस्तु जिल्लामा दुईवटा डिभिजन कार्यालय रहने व्यवस्था अनुरुप शिवराज नगरपालिका ५, चन्द्रौटास्थित सेक्टर वन कार्यालयको स्तरोन्नति गर्दै गौतम बुद्ध डिभिजन कार्यालय विहीबारबाट आधिकारिक रुपमा संचालनमा आएको हो ।

कार्यलयको समुद्घाटन गर्दै मन्त्री गिरीले वन कार्यालयको वन काट्ने र बेच्ने मात्र काम नभई अब वनमै जडीवुटीहरु उत्पादन गरी समृद्ध नेपालको लक्ष्यलाई पूरा गर्नु रहेको उद्घोष गर्नुभयो । संघीय सरकारले वनलाई प्रदेशको मातहतमा हुने गरी जिम्मा दिएको जनाउँदै बैज्ञानिक वन व्यवस्थापन गर्दा पुराना तथा समयावधि सकिएका रुखहरुलाई विस्थापित गरी नयाँ विरुवाहरु रोपेर हराभरा बनाउन प्रदेशकै १२ वटा जिल्लामा काम भइरहेको उहाँले बताउनुभयो । मन्त्री गिरीले सिमसारक्षेत्र भनेर चिनिने कपिलवस्तुमा ताल तलैया तथा खोलानालाहरु धेरै भएका हँुदा नदी कटान र वाढी पहिरोका कारण वर्षेनी वन मासिएको बताउनुभयो ।
मन्त्री गिरीले जिल्लाको चन्द्रौटामा रहेको सो डिभिजन कार्यालयबाट आम नागरिकले सहज ढङ्गबाट सेवा लिनसक्ने विश्वास व्यक्त गर्नुभयो । वन कार्यालय र आम जनता मिलेर काम गरेमा मात्र वन संरक्षण र सरकारको योजना पूरा हुने उहाँले जोड दिनुभयो । चन्द्रौटामा डिभिजन वन कार्यालयको लागि भौतिक पुर्वाधार कम रहेको वताउँदै भौतिक संरचना निर्माणका लागि प्रदेश तहबाट सहयोग गर्ने आश्वासन समेत मन्त्री गिरीले दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रदेश सांसद दीर्घनारायण पाण्डेले सर्वसुलभ सेवा दिने उद्देश्यले एउटा जिल्लामा दुई वटा डिभिजन कार्यालय स्थापना गरेको बताउनुभयो । वनमा काठ तस्करहरु सलबलाइरहेको भन्दै काठ तस्करी र वन अतिक्रमणलाई कम गर्न जनचेतना र कानुन निर्माण गर्न आवश्यक रहेको समेत प्रदेश सांसद पाण्डेयले उल्लेख गर्नुभयो । सांसद पाण्डेले वैज्ञानिक वन व्यवस्थापनले वनमा हरियाली र संरक्षण देखिएकोले यसमा सबैले सहयोग गर्न आवश्यक रहेको बताउनुभयो ।

शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले वनको विषयमा विभिन्न कानुनहरु बाझिएकाले ती कानुनलाई पूर्णता दिएर सबै मिलेर वन संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । काठ तस्करी र वन अतिक्रमण यस क्षेत्रको मुख्य चुनौती भएकाले यसलाई रोकथाम गर्न सकेमा मात्र वन व्यवस्थापन हुने थारुले दाबी गर्नुभयो । अब जिल्ला वन कार्यालयबाट हुने सम्पूर्ण कामहरु डिभिजन वन कार्यालय कपिलवस्तु (गौतम बुद्ध) चन्द्रौटाबाटै हुने कार्यालय प्रमुख दुर्गा कार्कीले बताउनुभएको छ ।











प्रतिक्रिया