नेपाल समाचारपत्र, पर्वत ।
सरकारले पर्वतका पाँच स्थानलाई पर्यटकीय गन्तब्यमा सुचीकृत गरेको छ ।
सरकारले तीन वटालाई स्थापित तथा प्रर्बद्धन गरिनुपर्ने र दुई स्थानलाई नयाँ तथा बिकास गरिनुपर्ने पर्यटकीय गन्तब्यको रुपमा सुचिकृत गरेको हो । यस अघि पर्वतका कुनै पनि पर्यटकीय स्थल गन्तब्यको रुपमा सुचिकृत भएका थिएनन ।
संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विहिबार सार्वजनिक गरेका एक सय पर्यटकीय गन्तव्यको सुचीमा गुप्तेश्वर गुफा, सेतीबेणी शिला र पञ्चासेलाई स्थापित पर्यटकीय गन्तब्यको रुपमा सुचिकृत गरिएको छ । पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा सञ्चालित क्यानोनिङ र महाशिला गाउँपालिकामा रहेको महाशिला नयाँ तथा बिकास गरिनुपर्ने पर्यटकीय गन्तव्यको सूचीमा समाविष्ट भएको हो ।
पञ्चासे कास्की, पर्वत र स्याङ्गजा जिल्लाको संगममा रहेको पर्यटकीय गन्तब्य हो । पदयात्रा, हिमश्रृङ्गखलाको दृश्यावलोकन, धार्मिक केन्द्र र होमस्टेका कारण स्थापित पर्यटकीय गन्तब्य हो । पञ्चासे पोखराबाट नजिक रहेको गन्तब्य भएका कारण पनि आन्तरिक र बाह्य पर्यटक आउँने गरेका छन । कुस्मा नगरपालिकाको वडा नं ४ कुस्माबजारमा रहेको गुप्तेश्वर गुफा साततले अलौलिक गुफा हो ।
मध्यपहाडी राजमार्गबाट पाँच सय मिटर तल रहेको यो गुफालाई पर्यटकीय र धार्मिक हबको रुपमा बिकास गरिदै लगिएको छ भने पर्वत, स्याङ्गजा र गुल्मीको सिमानामा पर्ने सेतीबेणीमा कालीगण्डकी जलजबिद्युत केन्द्रमा बनेको जलासयमा सञ्चालित स्टिमरका कारण आन्तरिक पर्यटकको रोजाईमा परेको छ ।
पर्वतमा गत बर्ष देखि सञ्चालनमा आएको कुश्मा नगरपालिका ३ दुर्लुङको क्यानोनिङ, केभिङ र होमस्टे सहित महाशिला गाउँपालिकामा रहेको एसियाकै ठूलो शिलाका रुपमा दावी गरिएको महाशिला नयाँ पर्यटकीय गन्तव्यको सूचीमा समावेश भएको हो । महासिलामा शिबको सुतेको मुर्ती बनाई बिश्वभरका पर्यटक र धार्मिक तीर्थयात्रीहरु भित्र्याउने योजना अघि सारिएो छ ।

पर्वतमा नयाँ पदमार्गको रुपमा बिकास गरिदै लगिएका हम्पाल, जलजला, भँवरकोट, अग्ला र लामा पुल तथा नयाँ बन्दै गरेको बिश्वकै दोस्रो अग्लो बञ्जिजम्प भने पर्यटकीय गन्तब्यको रुपमा छुटेका छन । पछिल्लो समय अग्ला र लामा पुलहरुमा दैनिक हजारौ पर्यटक आउँने गरेका छन । भवँरकोट हुँदै घारेपानी जाने पदमार्गमा पुर्वाधार निर्माणका कामहरु भैरहेका छन । घुमाउने ताल देखि बाँसखर्क, लोप्रे हुँदै घारेपानी पुग्ने अन्नपुर्ण मिलेनियम पदयात्रा मार्गमा पनि पदयात्रीहरु आईरहेका छन । जलजला र हम्पाल क्षेत्र तथा डहरे देउराली लगायतका क्षेत्रलाई पनि पर्यटकीय गन्तब्य बनाउन स्थानिय तहले बजेट तथा कार्यक्रमहरु सञ्चालन गरिरहेका छन ।
सरकारले पहिचान सँग सँगै नयाँ पहिचान गरिएका पर्यटकीय गन्तव्यहरुको विकासमा समेत सहयोग गर्ने भएको छ । नेपाल सरकारको मन्त्रीस्तरीय निर्णय अनुसार छनोट भएका गन्तव्यहरुको विकास र प्रबद्र्धनका लागि सरकारले आवश्यक बजेट विनियोजन गर्ने मन्त्रालयले सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ । चालु आर्थिक बर्षको बजेटबाट नयाँ पर्यटकीय गन्तव्य पहिचान तथा तिनको प्रबद्र्धनका लागि ५० करोड बजेट विनियोजन भएको थियो ।
नयाँ पर्यटकीय गन्तव्यको सूचीमा महाशिला समावेश भएपछि गाउँपालिकामा खुशी छाएको महाशिला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद पौडेलले बताए । उनले भने ‘गाउँपालिकाले पनि महाशिलामा पर्यटकीय आकर्षण गराउने गरी कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका थियौँ’ उनले भने ‘यसमा थप सहयोग मिल्ने भएको छ, महाशिलाबासी खुशी छौँ ।’











प्रतिक्रिया