फेसबुक दुरुपयोगले महिलामा पीडा, चार महिनामा १९ निवेदन


रोशन पराजुली, हेटांैडा
सामाजिक सञ्जाल बढी चल्तीमा देखिन्छन् । यस्ता सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरु थुप्रै भेटिन्छन् । दुरुपयोगमा महिला बढी पीडित हुने गरेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले पछिल्लो समय सामाजिक सञ्जालबाट अपराध हुने संख्यामा वृद्धि आएको जनाएको छ । नेपालमा सामाजिक सञ्जाल विकाससँगै सामाजिक सञ्जाल (विशेषगरी फेसबुक) मा एक व्यक्तिले अर्कोको नाममा नक्कली आईडी बनाएर अपराध गर्ने गरेको भन्दै निबेदन पर्ने गरेको प्रहरीले जनाएको छ ।

नचिनेको व्यक्तिलाई फेसबुकमा चिनेको आधारमा विश्वास गर्ने प्रवृत्तिले धेरै जना ठगिने गरेको प्रहरीले जनाएको छ । त्यसमध्ये महिला बढी पीडित देखिएका छन् । मकवानपुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले अपरिचित व्यक्तिले आफ्नो मन नपरेको व्यक्तिको प्रतिष्ठा सिध्याउन अर्काको नाममा नक्कली आईडी बनाउने गरेको बताउनुभयो ।

१६–२२ वर्ष उमेरका मानिस बढी साइवर केसका लागि प्रहरीमा आउने गरेको उहाँले बताउनुभयो । प्रहरीमा दर्ता भएका घटनामा प्रायः ‘फेसबुक ह्याक’ को निबेदन पर्ने गरेको देखिएको छ ।

चालु आर्थिक वर्ष २०७५÷०७६ को हालसम्मको तथ्यांक हेर्दा यसका १९ वटा अपराधका घटना दर्ता भइसकेका छन् । तथ्यांक हेर्दा १६ वटा निबेदन त महिलाकै छन् भने तीन जना पुरुषका । मकवानपुरबाट दर्ता भएको अपराध मुद्धा प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान महाशाखामा बुझाइने गरेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

केन्द्रबाट नै मुद्धाको बाँडफाँट हुने र फेक आईडी ‘ब्लक’ गर्ने गरिएको प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो । अपराधमा विद्यार्थी तथा गृहिणीदेखि जागिरेसम्म सलग्न रहेको प्रहरीले जनाएको छ ।

सिंहले नचिनेका व्यक्तिलाई फेसबुकमार्फत् साथी बनाउँदा साइवर अपराधका घटना बढेको र जथाभावी सामाजिक सञ्जालमा लेख्ने वा अर्काको नाममा आईडी बनाउनेलाई कडा कानुन बनाएर कारबाही गरेमात्र यस्ता घटना घट्ने बताउनुभयो । नचिनेका व्यक्तिलाई फेसबुकमा साथी नबनाउँदा राम्रो हुने उहाँले सुझाव दिनुभयो ।

‘सामाजिक सञ्जालमा प्राइभेसी कुरा बुझ्नु जरुरी छ । फेसबुकको वाल सार्वजनिक हो, आफ्ना व्यक्तिगत कुरा त्यहाँ नराख्नु नै ठीक हुन्छ,’ प्रनाउ सिंहले भन्नुभयो । कतिपय चाहीं सामाजिक सञ्जालमा अरुको बेइज्जत गर्दा, धम्क्याउँदा के सजाय हुन्छ भन्ने थाहा नपाएर पनि यस्तो अपराध गरिरहेका छन् । तर, प्रयोगकर्ता सजग हुने हो भने यस्ता अपराधका घटना हुन नपाउने सिंह बताउनुभयो ।

हालको युवा पुस्तामात्र नभएर समाजका बुढापाकाको हातहातमा मोबाइल त छँदैछ, प्रायःको फेसबुक आईडी पनि छ । समाजमा हेर्ने हो भने ७० वर्षदेखि तलको प्रत्येकलाई फेसबुक भेट्न सकिन्छ । फेसबुकका उपयोगी कुराहरु त छँदैछ । अपरिचितलाई पनि फेसबुकमार्फत् ‘साथी’ बनाउने एक चलन नै भइसकेको छ ।