नेपाल समाचारपत्र, पर्वत ।
पर्वतको सदरमुकाम कुस्मा नगरपालिकामा खाली रहेका दुई सरकारी कार्यालयहरु बुधबार कुस्मा नगरपालिकाले कब्जा गरेको छ ।
कुस्मा नगरपालिकाका वडा अध्यक्षहरु र कर्मचारी पुगेर दुई सरकारी कार्यालयमा नगर कार्यपालिकाको साइनबोर्ड टाँगेका हुन ।
कुस्मा रहेका साविकको जिल्ला पशुसेवा कार्यालय र सिप बिकास तालिम केन्द्रको भवनमा नगरपालिकाले बोर्ड टाँगेको छ ।
कुस्मा नगरपालिका भाडामा घरमा बस्दै आएको छ भने बिभिन्न शाखाहरुका लागि कुनै कार्यकक्ष छैन । नगरपालिकाका शाखाहरु कार्यालय बिहिन बनेको अवस्थामा गण्डकी प्रदेश सरकार मातहतका कार्यालयहरु अनावश्यक रुपमा पुराना भवनहरु राखेर बसेपछि बाध्य भएर नगरपालिकाले आफ्नो बोर्ड राखेको दाबी जनप्रतिनिधी र कर्मचारीको छ । ‘प्रदेश मातहतका कार्यालयहरुले अनावश्यक रुपमा भवन ओगटेर बस्ने तर नगरपालिकाले भवन अभावमा दैनिक कार्य सम्पादन समेत पुरा गर्न नसक्ने अवस्था आएका कारण बाध्य भएर भवन कब्जा गर्न पुगेका हौ’ वडा नं ११ का अध्यक्ष तथा सामाजिक बिकास समितिका संयोजक शिब पौडेलले भने ।

कुस्मा नगरपालिकाको कार्यालय जिल्ला समन्वय समिति भएको स्थानमा स्थानान्तरण गर्ने र बिभिन्न शाखाहरु बड्गाउँका भवनमा राख्ने योजना रहेको उनीहरुको भनाई छ । नगरपालिकालाई कुनै पनि सरकारी भवन उपलब्ध नगराउने षडयन्त्र देखिएपछि सुझबुझपुर्ण ढंगले नै खाली भएका कार्यालयहरुमा नगर कार्यपालिकाको बोर्ड राखिएको कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार लामिछानेले बताए ।
प्रदेश सरकार मातहत भू तथा जलाधार ब्यबस्थापन कार्यालय, डिभीजन वन कार्यालय, कृषि ज्ञान केन्द्र तथा सडक पुर्बाधार बिकास कार्यालय स्थापना भएका छन । जिल्ला शिक्षा समन्वय इकाई रहेको पुरानो जिल्ला शिक्षा कार्यालयमा नै सञ्चालन भैरहेको छ भने बिद्यालय भवन निर्माण गर्ने आयोजना कार्यालय भने पुरानो महिला तथा बालबालिका कार्यालयमा राखिएको छ । दुई वटै कार्यालय एकै स्थानबाट सञ्चालन गर्न सकिन्छ । यसैगरि प्रदेशको मन्त्रालय मातहतका सबै कार्यालयहरु एकै स्थानबाट सञ्चालन गर्न सकिने भएपनि सिंगो कार्यालयहरु कब्जा गरेर बसि राखेको आरोप नगरपालिकाको छ ।
जिल्ला समन्वय समिति , स्थानिय प्रशासन संगको समन्वय बिना कार्यालयहरुमा धमाधम बोर्ड राखिएको छ । कार्यालयमा बोर्ड राख्ने क्रममा नगरपालिकाका प्रमुख र उपप्रमुख भने अनुपस्थित थिए । नगरप्रमुख रामचन्द्र जोशी बिदेश भ्रमणमा छन भने उपप्रमुख सिता काफ्ले लामिछाने भने उपस्थित भएकी थिइनन । महिला तथा बालबालिका कार्यालय मात्रै जिल्ला समन्वय समितिलाई हस्तान्तरण गरिएको छ भने अन्य भवन समन्वय समितिलाई हस्तान्तरण भएका छैनन । नयाँ नयाँ कार्यालय सञ्चालन हुने क्रम बढेका कारण पछि समस्या नहोस भनेर अहिले भवन हस्तान्तरण गर्न नसकिएको जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले बताउनुभयो











प्रतिक्रिया