पेय पदार्थ, फर्निसिङ र कपडाको मूल्य बढ्यो


काठमाडौं, (नेस)
चालू आर्थिक वर्षको भदौ महिनासम्म खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १ दशमलव ४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति १ दशमलव ८ प्रतिशत रहेको थियो। खासगरी दलहन तथा गेडागुडी, तरकारी एवम् चिनीजन्य वस्तुको मूल्यमा आएको गिरावटका कारण समीक्षा अवधिमा समग्र खाद्य तथा पेय पदार्थको मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा कम भएको हो ।

समीक्षा अवधिमा गैरखाद्य तथा सेवा समुहको मुद्रास्फीति ५ दशमलव ८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ४ दशमलव ७ प्रतिशत रहेको थियो । यस समूहअन्तर्गत यातायात, फर्निसिङ, घरायसी उपकरण एवम् कपडा तथा जुत्ताचप्पल लगायतका वस्तु तथा सेवाको मूल्य बढेका कारण समग्र गैरखाद्य तथा सेवा मुद्रास्फीति वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै उपभोक्ता मुद्रास्फीति पहाडमा ५ प्रतिशत, तराईमा ३ दशमलव ७ प्रतिशत, हिमालमा ३ दशमलव ४ प्रतिशत र काठमाडौं उपत्यकामा ३ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति पहाडमा ३ दशमलव ४ प्रतिशत, तराईमा ३ दशमलव ८ प्रतिशत, हिमालमा ५ दशमलव ४ प्रतिशत र काठमाडौं उपत्यकामा २ दशमलव ८ प्रतिशत रहेको थियो ।

त्यसैगरी भदौ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८ दशमलव ७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति १ दशमलव ५ प्रतिशत रहेको थियो । पेट्रोलियम पदार्थ, आधारभूत धातु तथा कपडालगायतका वस्तुहरुको मूल्यमा भएको वृद्धिका कारण समग्र थोक मुद्रास्फीति बढ्न गएको हो ।

समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकांक ८ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकांक ५ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकांक ६ दशमलव ६ प्रतिशत र ज्यालादर सूचकांक ८ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ ।