चालू खाता घाटा बढेर साढे ३५ अर्ब पुग्यो


नेपाल समाचारपत्र, काठमाडौं
वस्तु आयातमा भएको उच्च वृद्धिका कारण भदौ मसान्तसम्म चालू खाता घाटा ३५ अर्ब ५६ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १९ अर्ब ७४ करोड रहेको थियो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय स्थितिअनु्सार अमेरिकी डलरमा अघिल्लो वर्षको दुई महिना १९ करोड २६ लाख डलर रहेकोमा चालू खाता घाटा समीक्षा अवधिमा ३२ करोड १ लाख डलर पुगेको छ । समीक्षा अवधिमा शोधनान्तर घाटा २५ अर्ब ४५ करोड रहेको छ । यस्तो घाटा अघिल्लो वर्षको सोही अवधिमा ५ अर्ब ८७ करोड रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर घाटा अघिल्लो वर्षको दुई महिनामा ५ करोड ७३ लाख डलर रहेकोमा समीक्षा अवधिमा २३ करोड ९ लाख डलर रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २ अर्ब ८० करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह १ अर्ब २३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्ब ८४ करोड र प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १० करोड रहेको थियो ।

यसैगरी कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तको ११०२ अर्ब ५९ करोडबाट १ दशमलव ३ प्रतिशतले वृद्धि भई भदौ मसान्तसम्म १११७ अर्ब ४६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तको १० अर्ब ८ करोडबाट ३ दशमलव ४ प्रतिशतले कमी आई २०७५ भदौ मसान्तमा ९ अर्ब ७५ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तको ९८९ अर्ब ४० करोडको तुलनामा २०७५ भदौ मसान्तमा २ दशमलव २ प्रतिशतले कमी आई ९६७ अर्ब ९३ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा ११३ अर्ब १९ करोड रहेकोमा २०७५ भदौ मसान्तमा ३२ दशमलव १ प्रतिशतले वृद्धि भई १४९ अर्ब ५३ करोड पुगेको छ ।

भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव ६ प्रतिशत रहेको छ । सञ्चिति पर्याप्तता सूचकहरू चालू आवको दुई महिनाको आयातलाई आधार मान्दा बंैकिङ क्षेत्रस“ग रहेको विदेशी विनिमय सञ्चितिले ९ दशमलव ७ महिनाको वस्तु आयात र ८ दशमलव ३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

त्यस्तै विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३७ दशमलव २ प्रतिशत, ६९ दशमलव ५ प्रतिशत र ३६ दशमलव १ प्रतिशत रहेका छन् । असार मसान्तमा यस्ता अनुपातहरू क्रमशः ३६ दशमलव ७ प्रतिशत, ७८ दशमलव ६ प्रतिशत र ३५ दशमलव ६ प्रतिशत रहेका थिए । चालू आवको दुई महिनामा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट ५५ अर्ब ९३ करोडले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत १९ अर्ब १८ करोड रहेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार नगद प्रवाहमा आधारित कुल सरकारी खर्च ६६ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ७२ अर्ब ३८ करोड रहेको थियो । समीक्षा अवधिमा चालू खर्च ६१ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ७० अर्ब २६ करोड रहेको थियो ।

समीक्षा अवधिमा ४ अर्ब १४ करोड पु“जीगत खर्च भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च १ अर्ब ५५ करोड भएको थियो । सरकारी राजस्व समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व संकलन ३४ दशमलव ३ प्रतिशतले वृद्धि भई ११९ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व १० दशमलव ३ प्रतिशतले वृद्धि भई ८८ अर्ब ७९ करोड पुगेको थियो । सरकारको नगद मौज्दात भदौ मसान्तमा सरकारी ढुकुटीमा २०१ अर्ब ४५ करोड नगद मौज्दात कायम रहेको राष्ट्र बैंकले जनाएको छ