मोदीवेणीको विकासका लागि तीन नगरको संयुक्त योजना


नेपाल समाचारपत्र, पर्वत
पर्वत र बाग्लुङ सीमाको प्रसिद्ध धार्मिकस्थल मोदीवेणीको विकासमा पर्वतका दुई र बाग्लुङको एक नगरपालिकाले सामूहिक योजना बनाउने भएका छन्  ।
कुश्मामा आयोजित मोदीवेणीको एकीकृत विकासमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा तीनै नगरका सरोकारवालाले सामूहिक योजना बनाएर समान प्राथमिकता अनुसार पूर्वाधार विकास गर्न सहमत भएका हुन ।

शालिग्राम पाइने विश्वको एकमात्रै नदीका रुपले परिचित कालीगण्डकीको पवित्र पानीले सिञ्चित मोदीवेणीमा मुलुककै नमुना वृद्धाश्रम, धार्मिक मठमन्दिर, इको संग्रहालय, सडक, बत्ती, घाट व्यवस्थापन लगायतका पूर्वाधारमा लगानी गर्न कुश्मा, बागलुङ र फलेवास नगरपालिका सहमत भएका छन ।
यसअघि बागलुङ, कुश्मा र फलेवासका छुट्टाछुट्टै समिति बनेकोमा अब एउटै मोदीवेणी क्षेत्र विकास समिति गठन गरिने भएको छ । गठित समितिले तीनवटै नगरपालिकाबाट प्राविधिकको सल्लाहमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन चरणका योजना बनाउनेछन ।

सहभागि सबैले सामूहिक प्रतिबद्धता सहित एकीकृत योजना बनाएर तीनवटै नगरपालिकाले सामूहिक लगानी गरि आवश्यक पूर्वाधार बनाउन सहमत भएका छन् । मोदीवेणी र कालीगण्डकीमा झोलुङ्गे पुलले जोड्ने, फलेवास खण्डमा रहेको जमिनमा परम्परागत घरेलु हातहतियार र घरेलु प्रविधिका वस्तु संग्रह गर्न संग्रहालय बनाउने निर्णय भएको छ । कुश्मातर्फका नृसिंह मन्दिर, १०८ तुलसी मठ, १०८ गौधारालाई व्यवस्थापन गर्ने, बागलुङतर्फको देवलबगरमा निर्मित वृद्धाश्रमलाई व्यवस्थित गरी सञ्चालन गर्न सबै सरोकारवाला सहमत भएका हुन ।

बाग्लुङको देवलबगरमा रहेको करिब सय रोपनी जमिनमा फलफूल खेती गर्ने, मोदीवेणीको घाट व्यवस्थित गर्ने, मलामीका लागि विश्रामस्थल निर्माण गर्ने लगायत योजनामा सामूहिक लगानी गर्न सबै नगरका जनप्रतिनिधि सहमत भए । ‘बडागाउँको दुवैतर्फबाट सडक जोडिइसकेको छ,’ कुस्माका नगरप्रमुख रामचन्द्र जोशीले भने, ‘अब त्यो बाटोलाई व्यवस्थित गरी बाह्रै महिना चल्नेगरी मर्मत गर्ने काम बाँकी हो । त्यसका लागि यो वर्ष पर्याप्त बजेट विनियोजन गरेका छौं ।’

यसैबीच मोदीबेनी क्षेत्रको बृहत्तर विकासका लागि गैरआवासीय नेपाली संघ एनआरएनएले अक्षयकोष स्थापना गर्ने भएको छ । मोदीवेणीमा हालै निर्मित ज्येष्ठ नागरिक आश्रमलाई दिगो रुपमा सञ्चालन गर्न र अन्य पूर्वाधार विकासमा चासो लिएको संघले अक्षयकोष स्थापना गरी त्यसबाट आउने ब्याजलाई विकासमा लगानी गर्ने भएको हो । एनआरएनएका प्रतिनिधि र स्थानीय सरोकारवालाबीच भएको अन्तरक्रियामा यसबारेमा समझदारी भएको छ ।

एनआरएनएका केन्द्रीय सल्लाहकार गोविन्द सुवेदी, एनआरएनए युरोपियन उपसंयोजक एकराज गिरी लगायतले मोदीवेणीको विकासका लागि अक्षयकोष स्थापना गरी सहयोग गर्ने प्रतिबद्धता जनाए ।