हेटौंडा ।
बेमौसमी तरकारीको राजधानी मानिने मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ मा ठूलो लगानीमा शीतभण्डार निर्माण थालिएको छ ।
करिब साढे ११ करोड लगानीमा ‘थाहा शीतभण्डार’ निर्माण थालिएको हो । शीतभण्डारको ३ नम्बर प्रदेशका भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जेलामाले शुक्रबार शिलान्यास गर्नुभएको छ ।
शिलान्यास गर्दै मन्त्री लामाले थाहानगरबासीको सम्वृद्धिका लागि शीतभण्डारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । संघ, प्रदेश, स्थानीय सरकार र स्थानीय सहकारीको संयुक्त लगानीमा शीतभण्डार निर्माणपछि स्थानीय किसानले तरकारी सहजरुपमा भण्डार गर्नसक्ने मन्त्री लामाले बताउनुभयोे ।
कार्यक्रममा राष्ट्रिय सहकारी संघ सञ्चालक तथा जिल्ला सहकारी संघ अध्यक्ष बद्री लम्सालले स्थायी सरकार भएको सन्दर्भमा निजी, सहकारी र सरकारको तीन पक्षीय सहयोगमा आर्थिक सम्वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले थाहानगरको सम्वृद्धि कृषि र पर्यटनबाट ठूलो सम्भावना रहेको आंैल्याउनुभयो ।
भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले शीतभण्डारले भीमफेदीका किसानलाई समेत लाभ पुग्ने भएकोले समयमै निर्माण सक्न सुझाव दिनुभयो । शीतभण्डार निर्माण थालिनु महत्वपूर्ण उपलब्धि भएको नगर प्रमुख लवशेर बिष्टले बताउनुभयो । छिटो निर्माण कार्य सक्ने नगर प्रमुख बिष्टको भनाइ छ ।
कार्यक्रममा नेपाल कृषि सहकारी संघ केन्द्रीय लेखासमिति संयोजक महेश्वर सुबेदी, जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्की, नेकपाका नेता विष्णु बिष्ट, थाहानगर उपप्रमुख खड्ग गोपालीलगायतले उक्त क्षेत्रमा शीतभण्डारको महत्वबारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रदेश सरकारको ‘एक जिल्ला, एक शीतभण्डार’ निर्माण नीतिअन्तर्गत् थाहानगरमा शीतभण्डार निर्माण सुरु गरिएको हो । शीतभण्डार निर्माणका लागि प्रदेश सरकारको भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालयले चार करोड, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ५० लाख, थाहानगर र स्थानीय सहकारीहरुले लगानी गर्ने जनाइएको छ ।
थाहानगरमा निकै लामो प्रयासपछि शीतभण्डार निर्माणका लागि सम्झौता भएको थियो । कालाभैरव चौरमा शीतभण्डार निर्माणका लागि नगरपालिका र २७ वटा सहकारीआवद्ध थाहानगर शीतभण्डार विशिष्टीकृत सहकारी संघबीच निर्माणका लागि केही महिनाअघि सम्झौता भएको थियो ।
शीतभण्डारका लागि कुल लागतको ६० प्रतिशत रकम सहकारी मन्त्रालयबाट प्राप्त हुने भएको छ । मन्त्रालयबाट ५० लाख रुपियाँ प्राप्त भइसकेको थाहानगरले जानकारी दिएको छ । निर्माण सम्पन्न गर्न लाग्ने रकममध्ये २ करोड ५० लाख रुपियाँ थाहानगर शीतभण्डार विशिष्टीकृत सहकारी संघले व्यहोर्ने सम्झौतापत्रमा उल्लेख छ । नपुग रकम नगरपालिकाले अनुदान प्रदान गर्ने सम्झौता भएको छ ।
निर्माण सम्पन्नपछि नगरपालिकाले विशिष्टीकृत सहकारी संघलाई हस्तान्तरण गर्ने तर स्वामित्व सहकारी संघको हुनेछ । शीतभण्डार दुई वर्षभित्र निर्माण सक्ने लक्ष्य लिइएको छ ।
स्थानीय किसानले आफ्नो उत्पादनले उचित मूल्य पाउन नसकेको र उत्पादित तरकारी भण्डारणका लागि अन्य जिल्ला पुग्नुपर्ने वाध्यता रहेको गुनासो गरिरहेको बेला शीतभण्डार निर्माण थालिएको हो । थाहानगरमा उत्पादित तरकारी काठमाडौं, पोखरा, चितवन, बीरगञ्ज, हेटौंडा तथा भारतका भान्साहरुमा पुग्ने गरेको छ ।











प्रतिक्रिया