विमल बिष्ट, डोटी ।
छोटो समयमा पर्याप्त आम्दानी गर्न सकिने भएपछि डोटीका किसान सामुहिक रुपमा किबी खेतीतर्फ आकर्षित हुन थालेका छन् । डोटीको जोरायल गाउँपालिका क्षेत्रका किसानहरु अहिले किबी खेती तर्फ आकर्षित भएका छन् । महँगो मूल्यमा किबी बिक्री हुने भएकाले जिल्लाको जोरायल गाउँपालिका ५ गडसेराका किसानहरु बाँजो बनेको जग्गाको सदुपयोग गर्दै किबी खेतीमा लागि परेका छन् ।
किबिको बजारमा प्रतिकिलो १ हजार रुपैयाँसम्म पर्ने र एक पटक लगाएपछि ७० देखि ८० वर्षसम्म फल दिने भएकाले यसलाई कृषकहरूले आम्दानीको मुख्य श्रोत बनाउने पनि तयारी गरेको जोरायल गाउपालिका ५ गड्सेराका किबि खेतीका कृषक लिलाधर बिष्टले बताउनु भयो । उहाँले भन्नु भयो ‘अति स्वादिलो हुने भएकाले सुपरमार्केटदेखि तारे होटलसम्म यसलाई बिक्री गर्न सकिने हुँदा गड्सेरामा किबी खेती सुरु गरेका हौ ।’
चार बर्ष अगाडी झण्डै एक सय बोट किबी लगाएर सुरुवात गरिएकोमा किबीले २ बर्ष अगाडीदेखि नै फल दिन सुरु गरिसकेको उहाँले बताउनु भयो । चार बर्ष अगाडी किबी खेती सुरु गरेका किसानहरुको समुहले अव २, ३ सय रोपनीमा किबी खेती विस्तारको तयारी गरिरहेको छ ।
गड्सेरामा किबी फलेपछि अन्य किसानहरु पनि व्यवसायिक किबी खेती गर्न आकर्षित भएको अर्का स्थानिय प्रकाशबहादुर रावलले बताउनु भयो । गड्सेरा र वरपरका क्षेत्रमा सुरुसुरुमा किबी खेती गर्दा गाउँकाले मात्र होइन, धेरै कृषि सम्बन्धीका जानकारले पनि किवी खेतीको सम्भाव्यताको विषयमा प्रश्न खडा गरेका थिए ।
माटो परिक्षणमा गड्सेरा क्षेत्र किबीका लागि उपयुक्त ठहर भएको जिल्ला कृर्षि बिकास कार्यालय डोटीका कृर्षि प्राबिधिक मनोज खड्काले बताउनु भयो । फलबाहेक किबीको जाम, जुस, जेली, वाइन र कस्मेटिक सामग्री बनाउन सकिने भएकाले यो खेती अति उपयोगी भएको उहाँको भनाई छ । एउटै रुखमा ५० देखि ७० किलोसम्म फल लाग्ने गरेको किसानहरु बताउछन् ।
स्थानीय सरकारले पनि किबी खेतीमा किसानहरुलाई प्रोत्साहन गरिरहेको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनु भयो । उहाँले भन्नु भयो ‘बाँझो जमिन सदुपयोग पनि हुने र किसानलाई आम्दानी पनि हुने भएकाले किबि खेतीलाई हामीले प्रोत्सान दिएका छौ ।’ समुद्री सतहबाट ८ सयदेखि २ हजार मिटर उचाइको पहाडी क्षेत्रमा किबी खेती गर्न सकिने कृर्षि प्राबिधिकहरु बताउछन् ।











प्रतिक्रिया