८ वर्षमै दुवै मृगौला फेल

0
Shares

हेटौंडा ।
८ वर्षको उमेरमै मकवानपुरकी एक बालिकाको दुवै मृगौलाले काम गर्न छाडेको छ । कमजोर आर्थिक अवस्थाकी मकवानपुरको राक्सिराङ गाउँपालिका–५ की बालिकालाई बचाउन आग्रह गरिएको छ । नेपाल चेपाङ संघ मकवानपुरले सहयोगको आह्वान गरेको हो ।

संघ मकवानपुर अध्यक्ष खेम चेपाङले राक्सिराङ गाउँपालिका–५ घर भएर मनहरी गाउँपालिका–८ मा बस्दै आएकी साबित्री चेपाङको जीवन बचाउन सहयोगको अपिल गर्नुभएको हो ।

मनहरीस्थित महेन्द्रकिरण माध्यमिक विद्यालयको कक्षा–७ मा अध्ययनरत् साबित्रीको दुवै मृगौलाले काम गर्न छाडेपछि उनको नियमित डायलाइसिस भइरहेको छ । ८ वर्ष उमेरमा मृगौलासम्बन्धी समस्या आएपछि बाबु आशबहादुरले उपचारका लागि काठमाडौं लगेका थिए । साबित्रीलाई सामान्य उपचार गरी घरमै राखिएको छ ।

दुवै मृगौला फेल भएपछि उनी केही समयदेखि ओछ्यानमै सीमित भएपछि सहयोगीहरुले जुटाइदिएको रकमले डायलाइसिस गरेपछि हिँड्नसक्ने भएको आशबहादुरले बताउनुभयो । उहाँका अनुसार सहयोगी संस्था र व्यक्तिले आर्थिक सहयोग गरेपछि डायलाइसिस भइरहेको छ ।

कतारमा रहेका नेपालीले साबित्रीको उपचारका लागि रकम संकलन गरी पठाएका छन् । ३८ हजार १ सय ६० रुपियाँ संकलन गरी साबित्रीका लागि नेपाल चेपाङ संघ मकवानपुरमार्फत् रकम पठाइएको हो । यसअघि पनि विभिन्न व्यक्ति तथा संघसंस्थाले एकलाख ५० हजारभन्दा बढी रकम साबित्रीलाई हस्तान्तरण गरिसकेका छन् ।

कतारमा रहेका युवा टंकबहादुर पीठाकोटेको नेतृत्वमा संकलित रकम नेपाल चेपाङ संघ अध्यक्ष खेमबहादुर चेपाङले ३ नम्बर प्रदेश सांसद् सन्तबहादुर चेपाङमार्फत् साबित्रीलाई हस्तान्तरण गर्नुभएको छ । कमजोर आर्थिक अबस्थाका आशबहादुरका ४ छोराछोरीमध्ये साबित्री साइँली सन्तान हुन् ।