धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमका ग्रामिण सडकमा चल्ने सवारी साधनले मनपरी रुपमा भाडा असुल्ने गरेको यात्रुले गुनासो गर्न थालेका छन् । जाजरकोट–डोल्पा जोड्ने मुख्य सडकखण्ड अन्तरगत रुकुम पश्चिमको राडीज्यूला चल्ने सवारीसाधनले यात्रुबाट मनपरी भाडा असुल्ने गरेका हुन् ।
चाडपर्वको विषेश मौका छोपेर जाजरकोटको रिम्ना देखी राडीज्यूला सम्मको सडकखण्डमा तेब्बर भाडा उठाउँदै यात्रुलाई ठग्ने गरिएको छ । मापदण्ड विपरित यात्रुबाट तेब्बर भाडा असुली गर्दा यस क्षेत्रमा आवातजावत गर्ने यात्रुहरु मर्कामा परेका छन् ।
जाजरकोटको रिम्ना देखी राडीज्यूला सम्मको भाडा तीनसय पचास कायम गरिए पनि यात्रुबाट तेब्बर भाडा असुली हुने गरेको यस क्षेत्रका सर्वसाधरण बताउँछन् । दशैं तिहारको बेला यात्रुको संख्या बढ्ने भएकोले यहाँको रिम्ना, छेपारे, बाँकेज्यूला, चिसापानी र राडीज्यूला लगायतका ठाउँमा पुग्ने यात्रुबाट बढी भाडा लिने गरिएको छ ।
केही दिन अघिमात्र दशैं मनाउन घर हिंडेका आठबिसकोट नगरपालिका –१३ का मनिराम पुनले तेब्बर भाडा तिर्नुपरेको गुणासो सुनाउनुभयो । उहाँले रिम्नादेखी बाँकेज्यूला सम्मको भाडा एकसय पचास तिरेको जानकारी दिनुभयो । तर यहाँसम्मको बसभाडा रु. पचास मात्र कायम गरिएको छ । दिनहुँ तीस भन्दा बढी ठूला तथा साना सवारीसाधन आहोरदोहोर गर्ने यो सडकखण्डमा आजभोली सयौं यात्रुहरु दिनप्रतिदिन ठगिंदै आएका छन् ।
पछिल्लो समय रिम्नादेखी जाजरकोटको पश्चिमी क्षेत्र, रुकुम पश्चिम र डोल्पा सम्म पुग्नका लागि जिल्ला बाहिरबाट आउने नयाँ यात्रुहरु बढी ठगिने गरेका छन् । दिनप्रतिदिन यात्रुहरु ठगिंदा समेत सम्बन्धित निकायले यसतर्फ कुनै ध्यान नदिएको यात्रुहरुको दुखेसो छ ।
डोल्पा जिल्लालाई जोड्नेगरी रुकुम पश्चिम र जाजरकोटको रिम्ना स्थित पक्की पुल गत वर्षबाट सञ्चालनमा आएपछि यो सडकखण्डमा चल्ने सवारीसाधनले यात्रुबाट मनपरी भाडा उठाउन आएका छन् । हाल आठबिसकोट राडिज्यूलाबाट नेपालगञ्ज, सुर्खेत, दाङ्ग, काठमाडौं लगायत देशका मुख्य शहरमा दिवा तथा रात्री बस सञ्चालनमा रहेका छन् ।
त्यस्तै रुकुम पश्चिम र जाजरकोटका धेरैजसो ग्रामिण क्षेत्रमा चल्ने सवारीसाधनले यात्रुलाई ठग्ने गरी मनपरी भाडा लिने गरेका छन् ।











प्रतिक्रिया