काँकडभिट्टा मरिच तस्करीको सुरक्षित नाका

0
Shares

भद्रपुर ।
भारतसँग सीधा सीमा जोडिएको नेपाली बजारमा मरिच स्टोर गरी राखिने गरिएको पाइएको छ । पछिल्लो समय अन्य क्षेत्रभन्दा झापाको पूर्वीनाकाबाट प्रहरीले मरिच बरामद गर्न थालेपछि यस्तो तथ्य फेला परेको हो ।

तस्करी गरिरहेको मरिच प्रहरीले धमाधम बरामद गरेसँगै कारोबारी समेत अतालिन थालेका छन् । भारतमा मरिचको मूल्य महङगो भएका कारण यसको कारोबार समेत बढेको छ । मरिच तस्करीमा संलग्नले दोब्बर भन्दा बढी नाफा कमाउने भएकाले यसको तस्करी बढेको जानकारहरु बताउँछन् ।

मेचीनगरको नकलबन्दा, सतिघट्टा, भानुटोललगायतको बाटो हुँदै दिउँसो र साँझ सीमा क्षेत्रमा पुर्याउने गरिएको मरिच भारतका विभिन्न बजारमा लैजाने गरेको एक कारोबारीले उल्लेख गरेका छन् ।

चालु आर्थिक वर्षयता हालसम्म प्रहरीले २ हजार किलोको ११ लाख १० हजार मूल्य बराबरको मरिच बरामद गरेर भन्सार बुझाइसकेको जिल्ला प्रहरीको तथ्याङ्ले देखाएको छ । कारोबारमा सम्लग्न केहीलाइ प्रहरीले नियन्त्रणमा समेत लिइसकेको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाले पुनः बुधबार मेचीनगरका विभिन्न स्थानबाट भारततर्फ लैजार्दै गरेको अवस्थामा १ लाख २५ हजार मूल्य बराबरको अढाइ सय किलो मरिचसहित करिव ३ लाख मूल्य भन्दाबढीका अवैध सामान बरामद गरेको जनाएको छ ।

प्रहरीका अनुसार १२ हजार ५ सय मूल्य बराबरको २५ किलो सुकमेल, २० हजार ँ मूल्य बराबरको ४ सय किलो मटर, ५१ हजार मूल्य बराबरको २ सय ५५ किलो सुपारी तथा ३३ हजार मूल्य बराबरको ३३ डण्डा चुरोट बरामद गरिएको जिल्लाका एसपी भीमप्रसाद ढकालले जनाए ।

बरामद सामग्रीलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाईएको एसपी ढकालको भनाइ छ । मरिच तस्करीका लागि काँकडभिट्टा नाका सुरक्षित रहेपनि प्रहरीले विफल पारिसकेको उनले दाबी गरे । एकवर्ष अघि काँकडभिट्टा नाकाबाट सुपाडी तस्करीको कारोबारमा गिरावट आएपछि सोही नाकाबाट मरिच तस्करी हुन थालेको छ ।