रुकुम पुर्वको पिडाः प्रसुति गृह नहुँदा गर्भवतिलाई हेलीकप्टर मार्फत पोखरा पुर्याइयो

0
Shares

धनवीर दाहाल, रुकुम पुर्व ।
रुकुम पुर्वको पुथाउत्तरगंगा गाँउपालिका वडा नं. ३ रन्माकी १७ बर्षिया चन्द्रकुमारी बि.क बिहिबार बिहान ८ बजे घरमा एक्कासी बेहोस भइन् । गर्भवति अवस्थामा रहेकी चन्द्रकुमारी बेहोस भएपछि उनलाई सुत्केरी व्यथा लागेको हुन सक्ने भन्दै स्थानीयहरुले गाँउमै सुत्केरी गराउन पहल थाले ।

तर उनको अवस्था झनै नाजुक हुँदै गएपछि स्वास्थ्य संस्था पुर्याउनका लागी गाँउलेहरु तयार भए । रन्मा गाँउमा स्वास्थ्य चौकी नभएपछि मैकोटमा लिन तयारी थालेपनि उनलाई त्यहाँ लिँदा सम्म स्वास्थ्यमा समस्या हुने स्थानीय स्वास्थ्यकर्मीले बताएपछि हेलीकप्टरको पहल गरी पोखरा पुर्याइएको हो ।

स्थानीय युवा नेता मरिचमान पुनले पुर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता गणेशमान पुनसँग परामर्श गरी चन्द्रकुमारीलाई हेलीकप्टर मार्फत पोखरा पुर्याइएको हो । स्थानीय मरिचमानका अनुसार चन्द्रकुमारीलाई प्री–इग्लामसियाको कारणले गाँउमा सुत्केरी गराउन संभव नभएको स्वास्थ्य कर्मीले बताएका थिए ।

प्री–इग्लामसिया भन्नाले प्रसुति हुन भन्दा सुरुको लक्षण हो । रन्मा गाँउमा प्रसुतिगृह नभएको र मैकोटमा लिएर गराउन नसकिने भएकोले तत्काल हेलीकप्टरको पहल थालिएको मरिचमानले बताउनुभयो । बिरामीको पोखराको मनिपाल हस्पिटलमा उपचार भैरहेको बताइएको छ । चन्द्रकुमारीका श्रीमान अमरबहादुर बि.कले बिरामीको उपचार भइरहेको बताउनुभयो । पुर्वमन्त्री पुनको पहलमा चन्द्रकुमारीलाई तत्काल भरपर्दाे अस्पताल पुर्याइएको स्थानीयबासीले बताएका छन् ।

रन्मा गाँउबाट मैकोट स्वास्थ्य चौकी पुग्न २ घण्टा लाग्दछ । मैकोट स्वास्थ्य चौकीका इन्चार्ज समिर गिरीले बिरामीलाई १२ घण्टाभित्र अस्पताल नपुर्याए ज्यान जान सक्ने भएकोले हेलीकप्टरको व्यवस्था गरी तत्काल अस्पताल पुर्याउन सुझाव दिएको बताउनुभयो । उमेर पनि सानो भएकोले गाँउमा सुत्केरी गराउन कठिन हुने आशंकाको कारण २ हप्ता पहिले नै अस्पताल पुर्याउन बिरामीको आफन्तलाई सल्लाह दिएको अहेव गिरीले बताउनुभयो ।

दुर्गममा बस्न मान्दैनन डक्टर
यसै गरी रुकुम पुर्वको कोलमा डक्टर दरबन्दी भएकोभएपनि हाल सम्म डक्टर नहुँदा बिरामीलाई सास्ती भएको छ । डक्टरको दरबन्दी हुँदा पनि कोलमा डक्टर आउन नमान्नु र सरकारले पनि पठाउन चासो नदिनुले बिरामीको उपचारमा कठिनाई भएको स्थानीयले बताएका छन् ।