शनिबार पनि जनताको सेवा !

0
Shares

नानीराम नेपाल, सिन्धुपाल्चोक ।
शनिवार–सार्वजनिक विदाको दिन । मध्य दिउँसो सुनकोसी गाउँपालिका–७ स्थित वडा कार्यालयमा पुग्दा वडाध्यक्ष ईश्वर तिमल्सिना कार्यकक्षमै व्यस्त देखिन्थे । वडासचिव सहित कर्मचारीहरु सेवाग्रहीका भीडबीच भूकम्पपीडित लाभग्राहीसँग अनुदान सम्झौता गरिरहेका थिए ।

स्थानीय तह निर्वाचनको डेढ वर्ष बित्नै लाग्दा सुनकोसी गाउँपालिका–७ स्थित वडा कार्यालयले शनिवार पनि जनसाधारणलाई सेवा दिन सुरुवात गरेको छ । वडा कार्यालयले शनिवार पनि सेवा प्रवाहको थालनी गरेपछि वडावासीका मुहारमा खुसी छाएको छ ।

‘गुनासो भरेको महिनौंपछि बल्ल नाम निस्किएछ, शनिवार नै वडामा आएर सम्झौता गर्न पाइयो’, शनिवार वडा कार्यालयमा भेटिएका स्थानीय ओमप्रसाद तिमल्सिना भन्दैथिए,–‘हाम्रो पीडा बुझेर वडा कार्यालय विदाकै दिन पनि खुल्दा खुसी लागेको छ ।’

गुनासो फारम भरेपछि लाभग्राही सूचीमा नाम निस्किएका ओमप्रसादले शनिवार नै अनुदान सम्झौता गर्न पाए । उनीजस्तै स्थानीय अभिषेक खड्काले शनिवार नै वडा कार्यालयमा आएर नागरिकताको सिफारीस लिए । ‘विदाको दिनमा पनि कार्यालय खुल्छ भनेपछि शनिवार नै आएर नागरिकताको सिफारिस लिएँ’, शनिवार वडा कार्यालयमा भेटिएका खड्काले खुसी ब्यक्त गरे ।

सुनकोसी–७ का स्थानीय राजेन्द्र कार्की आफुहरुले जनप्रतिनीधिको खास अनुभुति गर्न सकेको बताउँछन् । जनप्रतिनीधि नाम मात्रका हुन नहुने भन्दै काम गरेर व्यवहारमै जनताको प्रतिनीधि बन्नुपर्ने उनी बताउँछन् । ‘जनप्रतिनीधि नाममा मात्र हैन, काममै हुनुपर्छ’, उनी भन्छन्,–‘शनिवार पनि नभनी जनताको सेवामा खट्ने नै वास्तविक जनप्रतिनीधि हुन ।’

वडावासीका समस्यालाई मध्यनजर गर्दै शनिवार पनि सेवा दिन सुरुवात गरिएको वडाध्यक्ष ईश्वर तिमल्सिना बताउँछन् । वडावासीमा जनप्रतिनीधिको खास अनुभुति दिलाउनका लागि पनि आफुले सार्वजनिक विदाका दिनमा पनि कार्यालय खोले सेवा दिन सुरु गरेको उनी बताउँछन् ।

‘जनताको सेवा नै ठूलो कुरा हो, शनिवार नै सेवा पाएपछि वडावासी खुसी हुनुभएको छ’, वडाध्यक्ष तिमल्सिनाले भने । वडा कार्यालयका कर्मचारीहरुलाई प्रोत्साहन भत्ताको व्वस्था गरेर आगामी दिनमा शनिवार र विदाका दिनमा पनि कार्यालय खुला गरिने उनी सुनाउँछन् ।