काठमाडौँ ।
मनोहरा नगरपालिकास्थित हरहर महादेव मन्दिर मरिसरमा बेवारिसे अवस्थामा भेटिनुभएकी ६३ वर्षीया मीरा पराजुलीलाई मानवसेवा आश्रमले उद्धार गरेको छ । आफन्त र घरपरिवारको टुङ्गो नभएको बेवारिसे जीवन जीउन बाध्य मीरालाई उद्धार गरी अहिले मानवसेवा आश्रम सामाखुसीमा राखिएको छ । आश्रमले वसन्तपुर ढोका टोलमा अत्यन्त कष्टपूर्ण जीवन बिताइरहनुभएकी ७८ वर्षीया कान्छी महर्जन र र ८० वर्षीय साहिँला महर्जनलाई उद्धार गरी आश्रममा ल्याएको छ । उहाँहरुको कोही पनि आफन्त हुनुहुन्न ।
आश्रमले पछिल्लो पटक मानसिक सन्तुलन गुमाएकी अन्दाजी ६० वर्षीया विष्णु कार्कीलाई कोटेश्वरबाट उद्धार गरी सहारा दिएको छ । उहाँको पनि आफन्त र घर परिवारको कुनै अत्तोपत्तो छैन । आश्रमले पराजुली, महर्जन र कार्कीलाई मात्र होइन उहाँहरु जस्तै सहाराविहीन अनाथ, अपाङ्गता भएका, अशक्त, असहाय एवं मनोरोगी करीब ५५० व्यक्तिलाई संरक्षण दिँदै आएको छ ।
विसं २०६९ मा स्थापित आश्रममा रहेका ५५० असहायमध्ये करीब ५० बालबालिका र ५०० अनाथ रहेको अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । आश्रमले स्थापनाको छोटो समयमा एक हजार ५०० जनाभन्दा बढी असहाय व्यक्तिको सेवा गरिसकेको छ । त्यसैगरी ३०० भन्दा बढी असहाय व्यक्तिलाई पारिवारिक पुनर्मिलन गराएको छ । खुला आकाशमुनि सडकमा कष्टपूर्ण जीवनयापन गर्न विवश असहायको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको माध्यमबाट नेपाललाई नै सडकमुक्त नेपाल निर्माण गर्ने उद्देश्यले स्थापित आश्रमले विभिन्न जिल्लामा शाखा कार्यालयसमेत गठन गरेको छ ।
मुख्य कार्यालय मकवानपुरमा रहेको आश्रमको चितवन, काठमाडौँ, ललितपुर, गोरखा, लमजुङ, पर्सा, बाग्लुङ, कास्की, रुपन्देही र कैलालीमा शाखा कार्यालय गठन गरेको छ । “मानवीयताको राष्ट्र नेपाल निर्माणको सपनालाई साकार पार्न विसं २०८२ सम्ममा कम्तीमा एक हजार जना जुझारु, सिर्जनशील, मानवताप्रेमी पूर्णकालीन अभियानकर्मी तथा एक लाख स्वयंसेवी तयार गर्ने आश्रमको भावी योजना छ”, अध्यक्ष अधिकारीले भन्नुभयो ।
आश्रमले विसं २०८२ भित्र साँचो जीवन निर्माण विद्यालय सञ्चालन गरी संस्कारयुक्त विद्यार्थी उत्पादन÷निर्माण गर्ने कार्यको शुभारम्भ गर्नेसमेत योजना बनाएको छ । आश्रमका अनुसार काठमाडौँभित्र अहिले करीब ३०० असहाय व्यक्ति अत्यन्त कष्टपूर्ण बेवारिसे जीवन बिताइरहेका छन् । “आश्रमले उद्धार गरेका बालबालिकामध्ये अधिकांश बलात्कारपछि सडकमै जन्मिएका बालबालिका छन्, आश्रममा रहेका अधिकांश ज्येष्ठ नागरिकमध्ये धेरै जना आफ्ना सन्तानले सडकमै बेवारिसे छोडेर हिँडेका हुनुहुन्छ”, आश्रमका प्रवक्ता सुमन बर्तौताले भन्नुभयो ।
आश्रमले खास गरी शनिबार र मङ्गलबार राति काठमाडौँका प्रत्येक पुलमुनि, कलङ्की, स्वयम्भू, बौद्धलगायतका स्थान र मठमन्दिरमा असहाय व्यक्ति उद्धारका लागि अनुगमन गर्दै आएको छ ।
रासस











प्रतिक्रिया