उत्पादित छुर्पिको माग नेपालका प्रमुख सहरसंगै अमेरीका र भारतमा
गणेश घिमिरे, इलाम ।
देश बिदेशमा छुर्पिको माग बढ्दै गएपछि पछिल्लो समयमा इलाममा छुर्पि उद्योगहरु दिनप्रतिदिन खुल्नेक्रम बढेर गएको छ । साविक जिल्ला पशुसेवा कार्यालयका अनुसार इलाममा बर्षेनि १५ देखि २० वटाको दरले छुर्पि उद्योगहरु खोलिने गरेकोे छ । हाल जिल्लामा एकसय २० भन्दा बढि उद्योगहरु रहेको छ । जसमा सबैभन्दा बढि उद्योग जिल्लाको देउमाई नगरपालिका, सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका र इलामनगरपालिकामा रहेको छ ।
ब्यवसायिक पशुपालन तर्फ कृषकको आकर्षण बढ्नुले पनि यस किसिमको उद्योग खुल्नेक्रम बढेको हो । यातायात सुबिधा बाह«ैमास सञ्चालन हुन नसक्ने गाउँमा निजि तथा सरकारी दुग्ध उद्योगले दुध संकलन गर्न कठिनाई हुनेहुँदा कृषकहरुले उत्पादन गरेको दुधलाई सदुपयोगमा ल्याउनका लागि निजि तथा सहकारी मार्फत नै छुर्पि उद्योगहरु खोलिनेक्रम बढेर गएको साबिक पशुसेवा कार्यालयका प्राबिधिक डिगबहादुर कार्किले जानकारी दिए ।
जिल्लामा उत्पादित छुर्पिको माग नेपालका प्रमुख सहरहरु काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज सहित अमेरीका र भारतमा पनि बढेपछि जिल्लामा छुर्पि उद्योग खोलिनेक्रम बढेर गएको हो । छुर्पिको माग बढ्दै गएपछि र मूल्य पनि राम्रै पाउने गरेको बताइन्छ । तर पछिल्लो केहि समय यता गुणस्तरयुक्त छुर्पि उत्पादन नहुँदा माग र मूल्य घट्दा उद्योगिहरु चिन्तित समेत बनेका छन् । समग्रमा जिल्लामा छुर्पिको उद्योग भने बर्षेनी बढ्दै गएको फाकफोकथुम गाउँपालिका स्थित आमचोकका छुर्पि उद्योग सञ्चालक प्रेम मगरले बताए । छुर्पिसंगै घिउको उत्पादन पनि बढिहुने र मूल्य पनि उचित पाइने भएकाले उद्योग खोलिनेक्रम बढेको हो ।
उद्योग सञ्चालकहरुका अनुसार नौ लिटर दुध बराबर एककिलो छुर्पि र आधा केजि घिउ उत्पादन हुने गरेको छ । यस्तै छुर्पि उद्योगहरु खोलिनेक्रम बढेपछि जिल्लाका करिब तीनहजार घरपरिवार यसमा आश्रित छन् भने प्रत्यक्ष र अप्रत्यक्ष गरेर करिब चारहजार युवायुवतीले रोजगारी पाएको लघु उद्योग सम्बन्धि जिल्लामा तालिमकहरु दिँदै आउनु भएका बिज्ञ गोपाल पौड्यालले बताए ।
जिल्लामा अघिल्लो वर्षको तुलनामा गतवर्ष ६ दशमलब ७१ प्रतिशतले छुर्पि उत्पादन भएको थियो भने दश करोड ६९ लाख ८२ हजार रुपैंयाँ बराबरको कारोबार भएको पशुसेवा कार्यालयको तथ्याङ्कमा उल्लेख छ । छुर्पि प्रतिकेजी सरदर तीनसय ५० देखि ४ सय रुपैंयाँका दरले बिक्रि हुने गरेको छ । इलाम सहित नेपालमा उत्पादन भएको छुर्पि बिशेष गरेर अमेरीकामा कुकुरको आहाराका लागि बढिमाग हुने गरेको छ ।











प्रतिक्रिया