पुष्कर बुढाथोकी, भक्तपुर ।
दशैँको अन्तिम दिन बुधबार कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गर्नु भएको छ ।राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति भण्डारीले अपरान्ह मन्दिरमा पुगेर नवदुर्गाको पूजा गरी दर्शन गरेर प्रसाद ग्रहण गर्नुभएको हो ।
राष्ट्रपतिलाई नवदुर्गा मन्दिरका पूजारी जुगल कमाचार्यले नवदुर्गाको पूजा एवं दर्शन गराउनु भएको थियो । पुजारी ईन्द्रबहादुर वनमालाले उहाँलाई नवदुर्गाको प्रसाद फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गर्नुभएको थियो । त्यसक्रममा राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गर्नुभएको थियो । नवदुर्गा मन्दिरमा राष्ट्रपतिले करिब २० मिनेट पुजाअर्चना गर्नुभएको थियो ।

राष्ट्रपतिले नवदुर्गाका पुजारी, नाईके र देवगणहरुलाई जनही रु. १००५ का दरले दक्षिणा दिनुभएको थियो । देवगणहरुले भने आफूहरुको आर्थिक अबस्था ज्यादै नाजुक भएकाले सरकारले उचित रकमको व्यबस्था गर्नु राष्ट्रपति समक्ष माग गरेका थिए ।
यसअघि राष्ट्रपतिले दक्षिणा रु. ५०५ दक्षिणा प्रदान गर्दै आएकोमा यसवर्ष भने दक्षिणा दोब्बर पाएको देवगणहरुले बताएका छन् । नवदुर्गा जात्रा संचालनका लागि वर्षको करिब १० लाख रुपैया खर्च हुने तर रकम कतैबाट नआउँदा प्रसिद्ध जात्रा नै संकटमा परेको देवगणले गुनासो गरेका छन् । राष्ट्रपतिलाई देवगणहरुले नवदुर्गा जात्रा र पर्व चलाउँन आर्थिक समस्या आएको र देवगणको अबस्था पनि कमजोर हुदै गएकाले सरकारले उचित रकमको व्यबस्था गर्न राष्ट्रपति समक्ष माग गरेका थिए ।
राष्ट्रपति भण्डारीलाई तलेजुका मूल नाईके नरेन्द्रप्रसाद जोशीले तलेजूको प्रसाद प्रदान गर्दै कुमारीको मासिक भत्ता बढाईदिन आग्रह गर्नुभएको थियो । उहाँले तलेजुका समस्याका बारेमा समेत जानकारी गराउँनु भएको थियो ।
राष्ट्रपतिले देवगणलाई अब आर्थिक समस्या बोकेर राष्ट्रपतिसम्म आउँनु नपर्ने बताउँदै तीन तहको सरकार भएकोले समस्याको समाधान स्थानीय सरकारबाट हुनसक्ने बताउनु भएको नवदुर्गा जात्रा व्यबस्थापन समितिका सचिव रत्नमान वनमालाले जानकारी दिनुभयो ।

राष्ट्रपति सांसद महेश बस्नेतलाई समस्या बुझ्न र समाधान खोजिदिन आग्रह गरेको र प्रदेश तथा स्थानीय सरकार एवं प्रमुख जिल्ला अधिकारीमार्फत समस्याको समाधान गर्न सकिने सुझाब दिनुभएको उहाँले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीलाई दृष्टिबिहान ध्वंसि शाक्य र कृष्णराम चित्रकारले तयार पारेको राष्ट्रपतिको आर्ट तस्विर प्रदान गर्नुभएको थियो ।
राष्ट्रपति नवदुर्गा मन्दिर आउँदा प्रतिनिधी सभाका सांसद महेश बस्नेत, प्रदेश सभाका सदस्यद्धय शशीजंग थापा, डा. राजेन्द्रमान श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र, मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठ, नेपाली सेना, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु, तलेजुका मूल नाईके नरेन्द्रप्रसाद जोशी, गुठी कार्यालयका प्रमुख, सरकारी कार्यालयको कर्मचारी लगायतले राष्ट्रपति भण्डारीलाई स्वागत गर्नुभएको थियो ।











प्रतिक्रिया