सरिता चलाउने, सल्यान ।
सल्यानको प्रमुख पर्यटकीय स्थल कुपिण्डे तालमा होटेलहरु सन्चालन हुन नस्कदा कुपिण्डे ताल घुम्ना आउने पर्यटकहरुलाई समस्या भएको छ । दिनहु सयौ पर्यटकहरु ताल हेर्ने आउने भएता पनि त्यस क्षेत्रमा होटेलहरु नहुदा पर्यटकहरु भोकै फर्कन बाध्य भएका छन । कुपिण्डे ताल आस पास सामुदायीक वनकै कारण होटेलहरु सन्चालन गर्न कठिनाई भएको स्थानीयले बताएका छन ।
होटेल सन्चालन गर्दा सामुदायिक बनहरु बिच नै बिवाद हुँदा टहरा भत्काउन परेको स्थानीयको भनाई रहेको छ । होटेलहरु सन्चालन गर्दा जिल्लामा उजुरी परेपछि नेपालको कानुन अनुसार सामुदायीक वन भित्र कुनै घर टहरा निर्माण गर्न बन्देज गरिएको छ । अहिले कुपिण्डे तालमा पनि घर टहरा निर्माण गरिएको छैन र भएका समेत भत्काइएको छ ।

सल्यानलाई चिनाउने एउटा महत्वपुर्ण पर्यटकिय स्थल कुपिण्डे ताल हेर्नको लागी मनै रमाउने भए पनि खाना बस्नको समस्याले आफुहरुलाई अपठयारो भएको दाङबाट ताल हेर्न आएका झुपलाल बुढाथोकी झुपुले गुनासो गर्नु भयो । उहाँले भन्नु भयो ताल हेर्न बिहानै दाङ बाट हिडियो भोक भोकै तर यहाँ आउदा खाजा खाने, खाना खानको लागी होटेल नै रहेनछन । प्रकृतिले दिएका सुन्दर ताल भए पनि यस क्षेत्रमा होटेलहरु सन्चालन हुनुपर्ने उहाँले बताउनु भयो । जिल्लाको बन्गाढ कुपिण्डे नगरपालिका वडा नम्बर ८ मा पर्ने यो ताल भित्र सल्यान लगाएत बाहिरी जिल्लाबाट धेरै पर्यटकहरु घुम्ना आउने गर्दछन् । यहाँ आउने पर्यटकहरुलाई अहिलेको मुख्य समस्या भनेको खाना र बस्नको समस्या रहेको छ ।
ताल वरिपरि कुनै खानाको लागी होटल र बस्नको घरको बेवस्था गरिएको छैन । केहि समय अघि ताल नजिकै ३ ओटा घर थिए भने एउटा होटलको बेवस्था रहेको भएपनि उक्त घरहरु देवी सामुदायीक वन भित्र पर्ने भएकाले अहिले होटल भएको घर भत्काइएको छ भने दुईओटा घर सुनसान अबस्थामा स्थानीयले बताएका छन् । ती घरहरुलाई पनि भत्काउने तयारी गरिएको उनिहरुले बताएका छन ।
विगत एक बर्षदेखि होटेल व्यवसायी र तालमा डुंगा चलाउदै आएका ओमनाथ कवरका अनुसार देवी सामुदायीक वनका केहि व्यक्तीहरु र प्रहरी आएर घर भत्काएको बताउनु भयो । स्थानीयहरु बिच बिवाद भएर जिल्लामा उजुरी परेपछि वन भित्र घर बनाउन नहुने र होटल व्यवसायी गर्न नपाइने भन्दै घर भत्काएको उहाँले बताउनु भयो ।
उहाँले भन्नु भयो– “यहाँ धेरै पर्यटकहरु आउछन्, धेरैजसो खानेकुरा नलिएर आएका हुन्छन्, कोहि बास बस्ने योजना बनाएर आउछन् तर अहिले घर भत्काइदिएपछि केहि ब्यबस्था गर्न सकिएको छैन् ।” ताल घुम्ना आउने सबैले यती ठुलो पर्यटकीय स्थलमा खाना र बस्नको ब्यबस्था नहुँनाले समस्या हुने गरेको दुखेसो गरेको डुंगा चालक कवरले बताउनु भयो ।

यता डिभिजन वन कार्यालय सल्यानका निमित्त डिभिजनल वन अधिकृत मेघनाथ काफ्लेले सामुदायीक वनभित्र कुनै घर टहरा र ब्यबसायी गर्न नपाउने नेपालको कानुन भएको बताउनु भएको छ । उहाँले कानुनलाई मिचेर आफुहरुले काम नगर्ने भन्दै उपभोक्ता समितीले घर भत्काएको बताउनु भयो । उहाँले वनको जग्गा तालको नाममा दिन नसकिने बताउनु भयो । तर सामुदायीक वन उपभोक्ता समितीका व्यक्तीहरु मिलेर वनको आयआर्जको लागी ब्यबसायी गर्न सकिने उहाँले बताउनु भयो ।
कुपिण्डे ताललाई ब्यवस्थीत बनाउने आफु गम्भीर भएको भन्दै अब यसको सबै जिम्मा नगरपालिकाले लिने बन्गाड कुपिण्डे नगरपालिकाका नगरप्रमुख गोविन्द पुनले बताउनु भयो । उहाँका अनुसार अहिलेसम्म वन उपभोक्ता समितीहरु नगरपालिकामा कुनै कर बुझाउन नआएको भन्दै ति सबै समिती खारेज भएर नगरपालिकाले काम गर्ने बताउनु भयो । त्यसको लागी प्रशासन सँग कुरा गर्ने उहाँको भनाई छ ।
तालको डिपिआए भएको र चारैतिर सडक बनाउने उहाँले बताउनु भएको छ । ताल नजिकै होटल र रेस्टुडरेन्ट खोलेर सबै जिम्मा नगरपालिकाले लिने उहाँले बताउनु भयो । उहाँले तालको लागी बजेट विनियोजित गरेर पर्यटकको ब्यबस्थापन हुने नगरप्रमुख पुनले बताउनु भयो ।
कुपिण्डे ताल जानलाई सडकको सडकको समेत समस्या रहेकाले सल्यानको सदरमुकाम खलंगा देखि सुर्खेत जाने सडक यही ताल नजिकैबाट जाने हुनाले राजनीतिक दल सरोकारवालाहरुले ध्यान दिन जरुरी रहेको नागरीकको भनाई छ । सडकको ट्रयाक खोलिए पनि कच्चि र अफ्ठ्यारो सडक हुँदा यात्रुहरुलाई समस्या भएको छ ।
के छ त कुपिण्डे तालमा आकर्षण
यो ताल आफैमा एक महत्वपुर्ण बिषेशता बोकेको ताल हो । यस तालले वर्षमा तीन पटकसम्म पानीको रङ्ग बदल्छ । हरियाली रुख विरुवा, सुन्दरबस्ती, सल्यानी संस्कृतिको जनजीवनले सम्मोहित कुपिण्डे तालले वर्षमा तीन पटक वर्षा, हिउँद र गर्मी महिनामा पानीको रङ्ग बदल्छ ।
तालको किनारमा बराहको मन्दिर छ । सल्यानको मात्र नभएर बराह मन्दिरमा पूजा गर्न रुकुम, सुर्खेत र जाजरकोटका मानिस पनि पुग्ने गर्छन् । ग्रामिण धार्मिक पर्यटकीय दृष्टिकोणले मात्र महत्व मानिँदै आएको कुपिण्डे दहका बारेमा वैज्ञानिक अनुसन्धान भने आजसम्म हुन सकेको छैन ।
कुपिण्डे तालको वरपर स्वच्छ वातावरण, वरपर पहाडी हरियाली जगंल र बीचमा नीलो आकाश झैँ पश्चिमतिर फैलिएको सुन्दर मनै लोभ्याउने दृश्य भएको कुपिण्डे ताल, यहाँ सल्यानका मात्र नभई विभिन्न जिल्लाबाट कुपिण्डे दह हेर्न आउनेको संख्या आजभोली बढेको छ ।
डुङ्गा सयर गर्ने, मन्दीरमा पुजापाठ गर्न र मनोरम वातावरणमा पर्यटक रमाउने गर्दछन् । सदरमुकाम खंलगाबाट एक घण्टाको बस यात्रापछि कुपिण्डे दह पुग्न सकिन्छ । कुपिण्डे दह ७० मिटर गहिरो छ भन्ने गरिएपनि एकिन हुन सकेको छैन् ।
ताल २३.५३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । कुपिण्डे तालको लम्बाइ ८ सय ३४ मिटर र चौडाइ ५ सय ३८ मिटर रहेको छ । कुपिण्डे ताल समुन्द्री सतहदेखि ११ सय २० मिटर उचाइमा रहेको छ ।
किम्बदन्ती अनुसार कुपिण्डे दह भएको स्थानमा ठूलो गाउँ थियो । गाउँमा एक दिन साधु भेषमा एकजना मानिस बासको खोजिमा गाउँमा आएछन् । धेरै घरमा बास माग्दा पनि उनले बास पाउन सकेनन् । निरासहँुदै एकजना वृद्धको घरमा उनी पुगेछन् । बासका लागि आपूm आएको कुरा उनले सुनाए । घरमा रहेकी वृद्ध महिलाले आफ्नो घरमा खाना र बस्नका लागि केह प्रबन्ध हुन नसक्ने बताए पनि साधु त्यही घरमा बस्ने अनुमति मागे । वृद्धको गरिबी थाहा पाएपछि भोलिपल्ट बिहान साधुले ती वृद्ध महिलालाई भनेछन् । म कैलुवराह हुँ । अरुलाई बास बस्न नदिने यो गाउँका पापीलाई म छिनभरमा डुबाइदिन्छु । अहिलेको कुपिण्डे दहतर्फको पहाड देखाउँदै भनेछन, ‘त्यो पहाडसम्म जाऊ । हिँड्दा पछि फर्किएर नहेर्नु ।’ महिला पहाडतर्फ लागिन । पहाडको चुचुरोमा पुगेर पछि फर्किएर हेर्दा सबै गाउँ पानीले भरिएको दह भएछ ।
सल्यानको मुख्य पर्यटकीय सम्पदाको रूपमा रहेको कुपिण्डे ताल सदरमुकाम खंलगादेखि १४ किलो मिटर पश्चिममा पर्छ । चारैतिर पहाडले घेरिएको र बीचमा नीलो पानीले भरिएको कुपिण्डे तालले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहित बनाएकै हुन्छ । वरिपरि मिलेका पहाड, हरियो जंगल र बीचमा नीलो आकाशझैं उत्तर पश्चिमतर्फ फैलिएको ताल साँच्चिकै प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ ।











प्रतिक्रिया