भद्रपुर ।
फूलहरुमध्ये सयपत्रीलाई अधिकाँशले बढी मन पराउँछन् । सभा समारोह सजाउन ,अतिथीको स्वागत, न्वारानदेखि घाटसम्म र मन्दिरदेखि घरसम्म प्रयोग हुने सयपत्री फूल नै उत्तम मानिन्छ ।
त्यतिमात्र नभई तिहारमा दिदीबहिनीहरुले लगाइदिने माला होस या पाहुनालाई सम्मान गर्न पनि सयपत्री फूलको माला रोज्न थालिएको छ । सवै क्षेत्रमा यति धेरै महत्व र माग भएको वस्तु छिमेकी भारतमा निर्भर हुनु परेको छ । मानिसले चिया, उखु, पशुपङक्षी पालन व्यवसाय,अन्नबालीमा मात्र ध्यान दिदै आइरहेको पाइन्छ । यी र यस्तै खाले मात्र व्यवसाय हुन भन्ने सोचलाइ बदल्न झापाका एक दम्पत्तीले सयपत्री फूलको खेतीले आत्मनिर्भर हुन कम्बर कसेर लागिपरेका छन् ।
नेपालमा भारतबाट महङ्गोमा आयात गरेर सयपत्रीको माग धान्नु परिरहेको अवस्थामा भद्रपुर–७ इलुबारीमा खेमराज दाहाल र खगिन्द्रा खुशीले दुई विगाहा जग्गा भाडामा लिएर सयपत्री फूलको व्यावसायिक खेती शुर गरेका छन् ।
सीमावर्ती नाकाहरुबाट वर्षेनी करोडौँ मूल्य बरावरको फूल भित्रिरहेको अवस्थालाइ मध्यनजर गर्दै फूलमा आत्मनिर्भरसँगै आयआर्जनका लागि सयपत्री फूलको व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेको जनाएका छन् । झापाको भद्रपुरसँगै अर्जुनधारा, मेचीनगर, बिर्तामोड, गौरादह लगायतका क्षेत्रमा किसानहरुले यसपाली २० विगाहाभन्दा बढी क्षेत्रफलमा सयपत्री फूलको खेती लगाएका छन् । बाह्रैमास फूल्ने सयपत्रीको वर्णशङ्कर र रैथाने विरुवा रोपेकोले स्वदेशी फूलले बजारको माग धान्ने खगिन्द्रा खुशीले दाबी गरेकी छन् ।
अन्य समयभन्दा तिहारमा बढी माग हुने सयपत्री फूल भारतबाट भित्रिने र फूल किन्न घुइँचो लागेको देखेर यसको खेती गर्ने सोच आएको उनले बताइन् । हाल एक विगाहाबाट निजी लगानीमा खेती सुरु गरेको खेमराजले बताए । क्रमश यसको क्षेत्र बढाउदै लैजाने उनको भनाइ छ ।
चैत्र महिनाबाट शुरु गरिएको यो खेतीमा कलकते जातको विरुवा सुनसरीको इटहरीबाट ल्याइएको खगिन्द्राले बताइन् । साँढे सातहजार विरुवा रोपिएको उनले जनाइन् । हालसम्म अनुमानित ३ लाख रुपैया लगानी भएको उनको भनाइ छ । स्थानीय सरकारले चासो देखाएमा यो खेती सफल हुनेमा उनि विश्वस्त छिन् । गरे जे पनि हुने भएको बताउदै उनले खाडी मुलुकमा जानु भन्दा यस्तै पेसामा लाग्न अरुलाइ सल्लाह समेत दिन्छिन् ।
यस्ता प्रकारका साना –साना व्यवसायमा सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको उनले बताइन् । फूल किन्ने व्यापारीहरु बारीमै आउँने गरेको खेम बताउँछन् । सयपत्री फूलको बेर्ना रोपेको एक महिनापछि नै फूल्न थाल्ने उनले बताए । अहिले फूल धमाधम बिक्री हुन थालेको खशीले बताइन् । तिहारका लागि अर्कै विरुवाहरु फूल्न तयार भइरहेको उनले जनाइन् । अन्य खेतीभन्दा यो खेतीमा काम गर्न सजिलो र उत्पादन खर्च समेत कम हुने उनले बताइन् । यो पटक लगानी नउठेपनि गरेको काममा सन्तुष्टी भएको दुवै जना बताउँछन् ।
त्यस्तै मेचीनगर–९ मा डीएन्डडी बायोप्लान्टेक नामक कम्पनी दर्ता गरेर विगत चार वर्षदेखि नर्सरी व्यवसायमा लागेकी दीक्षा उप्रेतीले यसपाली १० कठ्ठा जग्गा भाडामा लिएर सयपत्री फूलको खेती सुरु गरेकी छन् । खेती गर्न चाहनेहरुलाई परामर्शसहित यसपाली ३५ हजार सयपत्रीका विरुवा विक्री गरेकी छन्् ।
पछिल्लो समय सयपत्री फूलको खेतीतर्फ किसानहरुको आकर्षण बढ्दै गएका कारण थोरै क्षेत्रमा भएपनि यसको खेती लगाउन शुरु गरेका छन् ।











प्रतिक्रिया