नेपाल समाचारपत्र, पर्वत ।
ठेकेदारको लापरबाहीका कारण जिल्लाको फलेवास नगरपालिकाअन्तर्गत देविस्थान(कुर्घा मोटरेवल पुल अलपत्र परेको छ।
स्थानीय लमाए खोलामाथि एक वर्ष अगाडिबाट पुल निर्माणको काम सुरु गरिएको भए पनि पुल निर्माण कार्यको सुरुवात हुन नसकेको हो ।
पुल निर्माण कार्यको प्रारम्भिक चरणमै निर्माण कम्पनी नयाँ बाटो गौचन जेभि कास्कीले अहिलेसम्म पुलको लागि आवश्यक फाउन्डेसनको कामका थालनी समेत गरेको छैन।
झण्डै ५ करोड १३ लाखको अनुमानित लागतमा निर्माण हुने मोटरेवल पुल २५ मिटर लामो र ११ मिटर चौडाईको रहने गरी स्टिमेट गरिएको छ। २०७६ सालको असार मसान्त सम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको भएपनि पुल निर्माणको काम भने शुरु नहुँदा तोकिएको समयमा निर्माण पूरा नहुने निश्चित भएको छ। समयमै पुल नबनेको र निर्माणको जिम्मा लिएको नयाँ बाटो गौचन जेभिले लापरबाही गरेको भन्दै स्थानीयबासी आक्रोशित भएका छन्। ‘ठेकेदारलाई काम छिटो सुचारु गराउन हामीले पटकपटक आग्रह र्गयौँ। तर हाम्रो कुराको सुनुवाई नै भएन।’ स्थानीय उपेन्द्र थापाले भने।
समयमै पुल नबन्दा आफूहरुले सास्ती बेहोर्नु परेको स्थानीय कृषकहरुको भनाई छ। फलेवास नगरपालिका ११ कुर्घाका कृषक बुद्धिराम शर्मा भन्छन्, ‘यहाँ सबै मौन बसेका छन्। जनताको भलो कसले पो चाहेको छ र? तोकेको काम नगर्नेलाई कारबाही गर्न किन सकिन्न? हामीले पटक पटक स्थानीय प्रशासनलाई पनि यसबारेमा जानकारी गराएको हो तर ठेकेदेरलाई कारबाही गर्ने वा काम शुरु गराउने काम गर्ने हिम्मत कसैको पनि आएन।

’पर्वतबाट सांसद बनेका पदम गिरीले भने आउँदो मंसिरबाटै काम सुचारु गराउने प्रतिबद्धता ब्यक्त गरेका छन्। निर्माण कार्य अलपत्र परेको भन्दै ब्यापक गुनासो आए पनि सांसद पदम गिरीले पुल निर्माण गर्ने भनिएको ठाउँमै पुगेर स्थानीयबासीसँग छलफल गर्दै यस विषयमा ध्यानाकर्षण गराउने बताए।‘ आगामी मंसीर महिनाबाट निर्माण कार्य अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गर्दछु।
’सांसद गिरीले भने, ‘विकास आयोजनाका कुनै पनि काममा हेलचक्राई नगरी काम गर्न निर्माण कम्पनीहरूलाई सरकारले पटक पटक निर्देशन दिइरहेको छ। पुल निर्माणका लागि आवश्यक पर्ने सवै प्रकारको समन्वय गरेर निर्माण कार्य अगाडि बढ्ने छ।’ उक्त पुल बनेपछि जिल्लाको दक्षिणी क्षेत्रमा रहेका विहादी, पैयूँ र महाशिलाको गाउँपालिकाका बासिन्दालाई यात्रामा थप सहज हुने छ।











प्रतिक्रिया