सरोज यादव, विराटनगर ।
विराटनगरमा अत्याधुनिक सुविधा सम्पन्न अढाइ तले भवनसहितको विराटनगर बस टर्मिनल निर्माणको काम सम्पन्न भएको छ । २०७४ माघ ४ गते शिलन्यास भएको वसपार्क अब कार्तिक १६ गतेदेखि सुचारु हुने विराटनगर महानगरपालिकाले जनाएको छ । गत आर्थिक वर्षको फागुनदेखि सुरु भएको टर्मिनल निर्माणको काम तोकिएको समयमै पूरा भएको छ ।
नगर विकास कोषको ८ करोड ४७ लाख ऋण सहयोगमा विराटनगर महानगरपालिकाले निर्माणका लागि गौरी पार्वती निर्माण सेवा काठमाडौंलाई ठेक्का दिएको थियो । उक्त कम्पनिले बस टर्मिनलका लागि अढाईतले भवन निर्माण कार्य सम्पन्न गरिसकेको छ भनेँ वर्षा र ढल निकासको पिचिङ को काम पनि सम्पन्न भएको छ । सुविधा सम्पन्न बस टर्मिनल सार्बजनिक निजि र सरकारी साझेदारीको अबधारणा अनुरुप सञ्चालन गरिने विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताए ।

व्यवस्थित र सुविधा सम्पन्न बस टर्मिनल निर्माण भएसँगै वर्षाको बेला पानी जमेर हिलाम्मे हुने र सुख्खायाममा धुलोको समस्या भोग्दै आएका यातायात व्यवसायी, यात्रु र स्थानीयवासीसमेत हर्षित भएका छन् । अहिले निर्माण सम्पन्न बस टर्मिनलमा एक पटकमा साना ठूला गरी ५० देखी ५६ वटासम्म बस राख्न मिल्ने विराटनगर महानगरपालिकाले जनाएको छ । बस टर्मिनलमा पुरानो बसपार्क जस्तो धेरै समयसम्म बस रोक्न नमिल्ने र यात्रु ओराल्ने र चढाएर गन्तब्य तर्फ लगि हाल्नुपर्ने गरि आधुनिक बस टर्मिनल निर्माण गरिएको छ ।

दुईतले सुविधा सम्पन्न बस टर्मिनलनमा ब्यवस्थित टिकट काउन्टर, यात्रु प्रतीक्षालय, रेष्टुरेन्ट, ब्यागेज राख्ने कोठा, सार्वजनिक शौचालय हुने छ । पहिलो तलामा टिकट काउन्टरसहित यात्रु प्रतीक्षालय र पसल रहने छ भने दोस्रो तलामा रेष्टुरेन्ट, लगेज कक्ष र प्रशासन कक्ष रहने छ । यो बसपार्क पूर्व क्षेत्रकै सुविधा सम्पन्न र नमुना हुने दावी गरिएको छ । बस टर्मिनलको भुइँतलामा प्रवेश र प्रस्थानद्वार राखिएको छ ।











प्रतिक्रिया