त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एकको मृत्यु

0
Shares

नुवाकोट ।
नुवाकोटको विदुर नगरपालिका वडा नं २ मा पौडी खेल्ने क्रममा एक युवकको त्रिशूली नदीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा १९ वर्षीय सुवास भण्डारी रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

बुधबार दिउँसोदेखि नदीमा बेपत्ता भएका सुवासको शव खोज्न विपद् व्यवस्थापन तालीम केन्द्र चितवनबाट आएका सशस्त्र प्रहरी टोली र नुवाकोट जिल्लामा रहेको सशस्त्र प्रहरीका प्रमुख निरञ्जन भण्डारीको नेतृत्वको टोलीले खोज्दा बिहिबार शव फेला पारेको थियो ।

स्थानीयवासीका अनुसार सुवास दोस्रो पटक पौडी खेल्न नदीमा पस्दा बेपत्ता भएका थिए । सुवाससहित चारजना युवा पौडी खेल्न गएको र सुवास दोस्रो पटक नदीमा पस्दा डुबेर आकुल ब्याकुल भएको र सङ्गै गएका साथीहरुले बचाउन खोज्दा नसकेको स्थानीयवासीले जानकारी दिए ।

नदी नजिकै सुवासको कुखुराको फार्म रहेकाले उनी घरबाट फार्ममा जाने भनेर हिँडेका थिए । सुवासका दाजु कृष्णका अनुसार बुधबार दिउँसभर स्थानीय र प्रहरीले खोजी गरे पनि सुवास नभेटिएपछि कुरिनटारबाट सशस्त्र प्रहरीको गोताखोर टोलीलाई बोलाइएको थियो ।