दिपायल द्रुतमार्ग यसै वर्ष सञ्चालनमा आउछः मुख्यमन्त्री भट्ट

0
Shares

विमल बिष्ट, डोटी ।
कैलालीको धनगढी हुदै दिपायल जोडीने द्रुतमार्ग अर्थात फाष्ट ट्रयाक यसै बर्ष देखी सञ्चालनमा आउने सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले बताउनु भएको छ । राष्ट्रिय महत्वको धनगढी–दिपायल द्रुतमार्ग निरीक्षणका क्रममा मुख्य मन्त्री भट्टले जुनसुक्कै हालतमा भएपनि यसै बर्ष देखी यो मार्गको सञ्चालन गरीने दाबी गर्नु भयो ।

 

\उहाँले भन्नु भयो ‘दुर्तमार्ग यसै बर्ष सञ्चालनमा ल्याउने तयारी गरीरहेका छौ,जस्तो सुकै परिस्थितीमा पनि अब काम रोकिने छैन् ।’ मुख्यमन्त्री त्रिलोचन भट्ट र सामाजिक विकास मन्त्री दीर्घ सोडारीले सो मार्गको अवस्था बुझनु भएको हो । उक्त मार्गको २०६४ बाट निर्माणको ट्रयाक खोल्ने काम शुरु भएको थियो । मुख्यमन्त्री भट्टले आउँदो जेठभित्रै ट्रयाक खोल्ने काम सम्पन्न गरी धनगढी देखि दिपायल सम्म गाडी चल्ने बाटो बनाउन निर्माण कम्पनीहरुलाई निर्देशन समेत दिनु भएको उहाँका निजी सचिब शिबसिंह ओलीले जानकारी दिनु भयो ।

धनगढी देखि स्याउले, तथा डोटीको विपिनगर, गड्सेरा हुँदै दिपायल पुग्ने सो मार्गको लम्बाई ८२ किलोमिटर छ । निर्माण कम्पनी अनेष्ट कन्ट्रक्सनका टेकेन्द्र शाहीले कैलालीमा ७ र डोटीमा ८ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । कैलालीमा १८ किलोमिटर ट्रयाक खुलिसकेको बताउनु भयो । उहाँले भन्नु भयो ‘केहि महिनामै ट्रयाक खोलिसकेर गाडी हिड्न सक्ने कच्ची सडक तयार हुने छ ।’

 

मुख्यमन्त्री भट्टले नेपाल सरकारले सो निर्माण गर्ने जिम्मा प्रदेश सरकारले दिएको भएपनि केन्द्रीय सरकारबाटै निर्माण गर्नुपर्ने भनि सिफारिस गरिसकेको बताउनु भयो । सामाजिक विकास मन्त्री सोडारीले केन्द्रीय सरकारले बजेट भाषणमा धनगढी–दिपायल द्रुतमार्गको लागि बजेट नछुट्याएको बताउनु भयो । उहाँले केन्द्रीय सरकारले नबनाएपनि प्रदेश सरकारले त्यसका लागि बजेट छुट्याएर प्रदेशको गौरबको योजनामा राखी काम गर्ने दाबी गर्नु भयो ।