घरमै सामाजिक सुरक्षा भत्ता

0
Shares

धनवीर दाहाल, रुकुम पश्चिम ।
रुकुम पश्चिमको बाँफिकोट गाँउपालिकाले सामाजिक सुरक्षा भत्ता सेवाग्राहीको घर घरमै गएर बितरण गरेको छ । गाँउपालिकामा रहेका १० वटा वडामा यस्तो व्यवस्था गरिएको गाँउपालिका अध्यक्ष धर्मबहादुर के.सीले बताउनुभयो । अध्यक्ष के.सीले भन्नुभयो “हामीले कार्यपालिकाबाटै निर्णय गरेर सामाजिक सुरक्षा भत्ता घरघरै गएर बितरण गर्ने निर्णय गरेका हौं ।

 

सोही अनुसार वडा अध्यक्षहरुको नेतृत्वमा टोली पुगेर बाँडिएको हो ।” स्वास्थ्यकर्मी सहितको टोलीले बृद्धबृद्धाहरुको स्वास्थ्य चेकजाँच गर्नुका साथै उनीहरुलाई घरमै पुगेर बृद्ध भत्ता बाँडिएको हो । हरेक वडाका अध्यक्षको नेतृत्वमा, वडा सचिव, वडा सदस्यहरु तथा स्वास्थ्यकर्मी सहितको टोलीले सामाजिक सुरक्षा भत्ता बितरण गर्नुका साथै स्वास्थ्य चेकजाँच गरिएको वडा नं ४ का अध्यक्ष लिलाराम बि.कले जानकारी दिनुभयो ।

सेवाग्राहीलाई घरमा गएर सेवा दिएपछि उनीहरुमा खुुसी छाएको छ । दशैंको मुखैमा भत्ता पाएपछि सुरक्षा भत्ता पाएका सेवाग्राहीमा खुसी भएका हुन् । वडा नं ३ का स्थानीय अर्जुनबहादुर मल्लले बृद्ध भत्ता लिएर वडा अध्यक्ष चन्द्रबहादुर के.सी र सचिव बिनोद रेग्मी लगाएतको टोली आउँदा निकै खुसी व्यक्त गर्नुभयो । उहाँले “भन्नुभयो पहिलो पटक घरमा बृद्ध भत्ता बुझे । म निकै खुसी छु ।”

उहाँ मात्र होइन सोही वडाका कोमली खत्री, टिकाराम ओली लगाएतले आफ्नै घरमा भत्ता बुझ्नुभएको छ । यसै गरी स्वास्थ्यकर्मीले उहाँहरुको स्वास्थ्य पनि चेकजाँच गरी आबश्यक परामर्श र औषधी दिएको वडा नं ५ का वडा अध्यक्ष कस्तुप दाहालले जानकारी दिनुभयो ।