असारे विकास त्याग्दै नगरपालिका असोजमै सडक निर्माण

0
Shares

किरन धामी, दार्चुला ।
दार्चुला जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिका असारे विकासलाई त्याग्दै अघि बढेको छ । विगतमा विकास निर्माणका काम असारमा मात्रै गर्ने प्रवृृतिलाई त्याग्दै नगरपालिकाले सडक निर्माण गरिरहेको छ । नगरपालिकाले वडा नम्बर ४ बसपार्क क्षेत्रमा सडक निर्माण गरिरहेको हो । असारमा गरिने विकास निर्माणका कामहरु दिगो नहुने भन्दै असारे विकास त्याग्दै गुणस्तरीय काम गर्न तर्फ नगरपालिका अग्रसर भएको नगरपालिकाका प्रवक्ता पुष्करराज जोशीले बताए ।

विगतका वर्षहरुमा आर्थिक वर्षको मध्य तथा अन्तिममा आएर उपभोक्ता समिति गठन गर्ने र विकास निर्माणका काम गर्ने परिपाटी भएपनि महाकाली नगरपालिकाले भने आर्थिक वर्षको तीन महिना देखी नै विकास निर्माणका काम सुरु गरेको छ । बसपार्क क्षेत्रमा ३० मिटर लम्बाईको आरसिसि सडक निर्माण भैइरहेको नगरपालिकाको सव ईन्जिनियर राजेन्द्र भट्टले जानकारी दिए । करीव ५ लाखमा निर्माण भैइरहेको आरसिसि सडकको निर्माण कार्य आधा सकिएको उनले बताए ।

विगतका वर्षहरुमा उपभोक्ता समिति गठन गर्नमै ढिलाई हुनेमा समिति गठन भएपछि पनि विभिन्न विवाद आउने कार्यले विकास निर्माण कार्य दिगो नहुने समस्या थियो । त्यति मात्र नभई विकास निर्माणका योजनाहरु निर्माण गर्दा असारे झरीमा गर्ने प्रबृत्तिले झन योजनाहरु गुणस्तरीय नहुने, दिगो नहुने समस्याहरु देखिने गरेका छन् । स्थानिय सरकार गठन भैइसके पछि जनता लक्षित विकास गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

गत विगतको असारे विकासलाई त्याग्दै नगरपालिकाले नयाँ योजनाका साथ विकास निर्माणका कार्यहरु गर्ने प्रवक्ता जोशीले जानकारी दिए । बेलैमा उपभोक्ता समिति गठन गरी विकास निर्माणका कामहरु सम्पन्न गर्न सके काममा गुणस्तर हुने उनको विस्वास छ ।