मंसिर महिना भित्र मोरङ जिल्ला खुला दिशामुक्त जिल्ला घोषणा हुने

0
Shares

सरोज यादव, विराटनगर ।
आगामी मंसिर महिना भित्र मोरङ जिल्लालाई खुला दिशामुक्त जिल्ला घोषणा गरिने भएको छ । मोरङमा रहेका १७ वटा स्थानीय तह मध्ये ११ वटा स्थानीय तह खुला दिशामुक्त क्षेत्र घोषणा भैसकेका छन् । खुलादिशामुक्त क्षेत्र घोषणा गर्न बाँकी रहेका ६ वटा स्थानीय तहलाई मंसिर १५ गते भित्र खुलादिशामुक्त क्षेत्र घोषणा गरी मंसिर २० गते मोरङ जिल्लालाई नै खुलादिशामुक्त जिल्ला घोषणा गर्न लागिएको जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले जानकारी दिए ।

विराटनगरमा आयोजित मोरङ जिल्लालाई खुलादिशामुक्त घोषणाकालागि सुक्ष्म कार्ययोजना गोष्ठीमा पोखरेलले खुलादिशामुक्त क्षेत्र घोषणा गर्न बाकी रहेका स्थानीय तहलाई करिब २ महिना भित्र घोषणा गर्न आग्रह गरे । मोरङ जिल्लामा विराटनगर महानगरपालिका, रंगेली, सुनबर्सी नगरपालिका, कटहरी गाउपालिका र जहदा गाउपालिकालाई खुलादिशामुक्त क्षेत्र घोषणा गर्न बाँकी छ । ६ वटा स्थानीय तहहरुमा २ हजार ५ सय २५ घरधुरीमा चर्पी निर्माण भएका छैनन् । जस मध्ये कटहरी गाउपालिकामा मात्र करिब १६०० घरमा चर्पी निर्माण भएको छैन् । कार्ययोजना गोष्ठीमा सहभागि भएका स्थानीय तहका जनप्रतिनिधिहरुले मंसिर १५ गते भित्र नै आ–आफ्नो स्थानीय तहलाई खुलादिशामुक्त जिल्ला घोषणा गर्ने बताए ।

प्रदेश नम्बर १ मा झापा र मोरङ जिल्ला मात्र खुलादिशामुक्त जिल्ला घोषणा हुन बाँकी छन् । प्रदेश १ का अन्य १२ जिल्लाहरु खुलादिशामुक्त क्षेत्र घोषणा भएका छन् । देशभर ७७ जिल्लाहरु मध्ये ६० जिल्ला खुलादिशामुक्त क्षेत्र घोषणा भैसकेका छन् भने ७ वटा प्रदेश मध्ये प्रदेश ४,६ र ७ प्रदेश खुलादिशामुक्त प्रदेश घोषणा भएका छन् ।

सन २०१८ भित्र नेपाललाई नै खुलादिशामुक्त घोषणाकालागि तयारी तिब्र पारिएको खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक मनोज घिमिरेले जानकारी दिए । ६० वटा जिल्लालाई खुलादिशामुक्त घोषणा गरिएको बताउदै उनले आगामी डिसेम्बर भित्र सबै जिल्लाहरुलाई घोषणा गरी नेपाललाई खुलादिशामुक्त घोषणा गरिने बताए ।

उनका अनुसार घोषणा हुन बाकी रहेका जिल्लाहरु पनि घोषणाको अन्तिम चरणमा पुगेका छन् । सन २०१० बाट सन २०१७ भित्र नेपालमा सरसफाई गुरु योजना अन्तरगत सबै घर धुरीमा सरसफाइको आधारभूत स्तर सम्मको सरसफाई सुविधामा पहुच पू¥याउने लक्ष्य सहित देशभर खुलादिशामुक्त अभियान थालनी गरिएको थियो । तर भूकम्पका कारण सन २०१७ मा लक्ष्य पुरा भएको थिएन् । सन २०१८ डिसेम्बरमा देशलाई नै खुलादिशामुक्त क्षेत्र घोषणा गर्ने अभियान जारी राखिएको छ ।