नेपाल समाचारपत्र, पर्वत ।
घटस्थापनाको दिन देखिनै गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका भगवती मन्दिरमा दैनिक हजारौं भक्तजनको भीड लागेको छ । चर्चित र धार्मिक आस्थाको गन्तव्य भएकोले धेरै भक्तजनको ओइरो लागेको हो ।
नेपालका धेरै शक्तिपिठ मध्ये बागलुङ कालिका गण्डकी प्रदेशको प्रमुख स्थानको रुपमा चिनिन्छ । धार्मिक, सास्कृतिक र ऐतिहासिक महत्व बोकेको एउटा प्रसिद्ध शक्तिपिठ भएकोले बडा दशै र चैतेदशैमा हजारौं भक्तजनको भीड लाग्ने गर्छ । घटस्थापनाको दिन देखि कालिका मन्दिरमा दैनिक हजारौं भक्तजन आउने भएकोले बागलुङ भगवती गुठी व्यवस्थापन समितिले बिशेष तयारी समेत गरेको छ । आएका भक्तजनको लागि पूजामा सहजीकरण, बली व्यवस्थापन, यातायातको पार्किङ, सरसफाई र खानपिनलाई सुरक्षित बनाउन विभिन्न तयारी गरिएको समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो ।
हरेक बर्ष बडा दशैंमा ६ लाख सम्म भक्तजन आउने गरेको समितिको तथ्यांक छ । यस वर्ष भक्तजनको संख्या ९ लाख सम्म पुग्ने अनुमान समितिले गरेको छ । ‘अघिल्ला बर्ष ६ लाख नरिबल विक्रि भएकोले त्यतिनै भक्तजन आएको अनुमान गरेका छौं’ खड्काले भन्नुभयो, ‘घटस्थापना देखि कोजाग्रत पूर्णिमा सम्म कतिपय दुइतिनपटक पनि दोहोरिएका होलान, कतिले नरिबल नल्याएपनि ६ लाख भक्तजन आएको हाम्रो अनुुमान हो ।’ तर यस वर्ष शुरुवातदेखिनै अत्याधिक भिड बढेकाले ९ लाख सम्म पुग्ने अनुमान गरिएको बताउनुभयो ।
धार्मिक विश्वासको कारण आउनेलाई पटक पटक आउने वातावरण बनाउन व्यवस्थापकीय सहजीकरण गरेको उहाँले बताउनुभयो । यो पटक नलिबल फुटाउने स्थान सारिएको छ भने बोका बली दिने स्थानलाई पर पु¥याएएको छ । त्यस्तै फ्रि वाईफाई, सूचना केन्द्र स्थापना लगायत गरिएको हो ।
पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणी मुकुन्द सेनकी राजकुमारी विश्रवादेवी सँग विसं १५९१ मा विवाह गर्दा राजकुमारीले पाल्पा माझकी देवी कालीकालाइ पनि साथैमा ल्याएकोले कालीगण्डकी नदी किनारमा रहेको जंगलमा विधिपूर्वक स्थापना गरिएको पाइन्छ । त्यसपछि कालिकाको नियमित पूजा भैरहेको जनश्रुती छ ।
कालीका मन्दिरमा दर्शन गर्न आउनेले सन्तान प्राप्त हुने, शक्ति प्राप्त हुने र मनोकांक्षा पुरा हुने लगायतका विश्वास गर्छन् । अहिले बागलुङ, पर्वत, म्याग्दी, कास्की, चितवन, लगायत देशभरका विभिन्न स्थानबाट कालीका प्रति धेरै विश्वास मान्नेहरु दर्शन गर्न आउने गर्छन् भने भारतीय पर्यटक र तेस्रो मुलुकका पर्यटक पनि आउने गरेको खड्काले बताउनुभयो ।
वडादशैं र चैतेदशैमा बागलुङ कालिकामा ठूलो मेला लाग्छ । त्यतिबेला हजारौं भक्तजनहरुले पूजा गर्ने, पञ्चवली दिने र नाचगान गर्ने चलन छ । कालिका मन्दिरको चारै दिशामा ढोका छन् । पूर्वको ढोका कहिले पनि खोलिदैन । यो ढोका खोल्दा नाग उत्पन्न हुने भएकोले बन्द गरिने गरिएको गुठीयार मध्येका पाका पत्रकार विदुर खड्का बताउँनुहुन्छ ।
कालीका गुठीमा खड्काहरुको प्रमुख जिम्बेवारी छ । मन्दिर स्थापना देखि अहिले सम्म खड्काहरुले नै मुख्य कर्ताको रुपमा काम गर्दै आएको पाइन्छ । मन्दिरमा भेटिएका तीनवटा लिखित दस्तावेजले पनि खड्क समाएर आएका चक्र पुवारका खलकलाइनै पूजारी भएर काम गर्ने अधिकार दिइएको छ ।
अहिले पनि मन्दिरको विशेष संरक्षण, रेखदेख स्थानीय खड्का परिवारबाटै भइरहेको छ । पर्वत राज्य विसं १८४३मा नेपालमा गाभिएपछि १८४५ मा तत्कालीन राजाले लालमोहर लगाएर स्थानीय रामचन्द्र खड्काहरुलाइ पूजारी बनाएर खड्काहरुनै गुठीयार बस्ने अधिकार दिएको भन्ने दस्तावेजमा उल्लेख गरिएको छ ।
मन्दिरमा भक्तजनले चढाएको भेटीबाट बार्षिक डेड करोड आम्दानी हुने गरेको छ । उक्त रकम मन्दिरको भौतिक पूर्वाधार निर्माण, कर्मचारीको तलब भक्ता लगायतको व्यवस्थापनमा खर्चिने गरिएको पनि खड्काले बताउनुभयो । यस मन्दिरमा दर्शनका लागि बार्षिक ५० लाख भक्तजन आउने गरेको समितिले जनाएको छ ।











प्रतिक्रिया