नेपाल समाचारपत्र, पर्वत ।
पर्वतको मोदीगाउँपालिकामा पर्ने रमणीय स्थल भमरकोटमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीना , संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारी देखि प्रतिनिधीसभाका साँसद पदम गिरी सम्म रात काट्न पुगे ।
भर्खर पदयात्रा मार्गको रुपमा बिकास गर्न लागिएको भवरकोटमा देउपुर देखि पैदल हिडेर चिसो र झरीमा रुझ्दै अध्यक्ष तिमिल्सीना सहित पर्यटन मन्त्रीले रात काटे । बिहान उठेपछि सुर्योदय हेरे र मनोरम दृश्यहरुमा आफुँलाई भुलाए ।

बिश्वकै उत्कृष्ट पदमार्गमा सुचिकृत अन्नपुर्ण पदमार्ग अन्र्तगत नयाँ पर्ने बिरेठाँटी – घोरेपानी पदमार्गमा नजिकै पर्ने पर्वतको नयाँपुल देखि देउपुर हुँदै भवरकोटबाट घोडेपानी पुग्ने पदयात्रा मार्गको प्रचार गर्न बिशिष्ठ पाहुनाहरु रातभर चिसोमा बसेर बिहान मनोरम दृश्यावलोकन गरेका हुन ।

देउपुरका अगुवा एवं इन्जिनियर मनबहादुर खडकाको अगुवाइमा निर्माणाधिन नयाँपुल–देउपुर–भमरकोट–घोडेपानी पदमार्गको सम्भाव्यता अध्ययन गर्दैै अध्यक्ष तिमिल्सीनाले भने –‘भवरकोटलाई घान्द्रुक र पुनहिल आउने पर्यटक संग जोड्न सकेमा यसलाई बैकल्पिक पदमार्गको रुपमा बिकास गर्न सकिन्छ ।’ भमरकोट संगै जोडिएका मोदी गाउँपालिकाका सुन्दर गाउँहरु भूकदेउराली, ताङ्गले, लप्सीबोट, देउपुर, पुर्णगाउँ, लेस्पार, घुरुङ्गा लगायतका ठाउँमा घरबास(होमस्टे) सेवा सञ्चालन गरि प्रमुख पर्यटकीय गन्तब्य बनाउने गुरुयोजना बनाउन उनले सुझाब दिए ।

घोरेपानी र घान्द्रुक पुग्ने पदयात्रा मार्गमा सडक बनेपछि धुलोका कारण उनीहरुले सडकले नछोएको र हिमाल सहित दृश्यावलोकन गर्न सकिने भमरकोट आउने अवस्था बन्न सक्ने देखिएको छ । ‘भमरकोट हुँदै घोरेपानी पुग्ने पदयात्रा मार्गमा कहिल्यै पनि सडक नपुग्ने भएकाले यो राम्रो पर्यटकीय गन्तब्य बन्न सकिने देखियो’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले भने ‘यो कहिल्यै नमेटिने र सडकको प्रभाव नपर्ने पदमार्ग बन्न सक्छ’ पोखरा संग यसलाई जोडेर पर्यटकीय पुर्वाधार बनाउने प्रतिबद्धता पनि उनले जनाए ।

मोदी गाउँपालिकाको वडा नम्बर १, २ र ३ को बीचमा पर्ने भंवरकोटको चर्चा बाहिर खासै नभए पनि देउपुरवासीका लागि भने प्रकृतिको उपहार नै हो । चारैतिर हिमालले घेरेको जस्तै लाग्ने विशाल खर्कबाट गण्डकी प्रदेशको राजधानी पोखरा, बाग्लुङ, म्याग्दी र पर्वतका अधिकांश भू–भागले पर्यटकलाई पनि लोभ्याउन सक्ने अवस्था छ ।

त्यसबाहेक पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनेपछि विस्थापित हुने भनिएको प्याराग्लाइडिङ उडान गर्न भमरकोट उत्तम गन्तब्य हुन सक्ने पर्वत – भमरकोट–घोडेपानी पर्यटन क्षेत्र बिकास समितिका सचिब राजेन्द्र खड्काले बताए । ‘पोखराबाट एक घन्टा दूरी लामो पनि होइन,’ उनले भने, ‘पोखरा नजिकै प्याराग्लाइडिङ स्पट भएन भन्ने व्यवसायीको चिन्ता अब मेटिन्छ ।’
देउपुरमै जन्मिएर अफ्रिकी मुलुकहरुमा लामो समय दूरसञ्चार इन्जिनियरको काम गरेका मनबहादुर खडाको अगुवाइमा देउपुर–भंवरकोट–घोडेपानी पदमार्ग निर्माण गर्न लागिएको हो । ३ वर्षअघि गठित पर्वत भँवरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिले विदेशीलाई पदमार्गको अवधारणा अघि सारेको हो । मोदीको तिलाहारबाट सुरु हुने पदमार्ग घोडेपानी पुग्न २१ किलोमिटर भएको खड्काले बताए । ‘तीन किलोमिटर अघिल्लो वर्ष निर्माण भइसकेको छ,’ उनले भने, ‘बाँकी आगामी वर्ष पुरा गर्ने लक्ष्य हो ।

बजेट भए कठीन छैन ।’ अघिल्लो वर्ष पर्यटन बोर्डबाट २० लाख रुपैयाँ बिनियोजन भएकोमा चालु वर्ष प्रदेश पर्यटन मन्त्रालयबाट ३५ लाख रुपैयाँ छुट्टिएको उनले बताए । अमेरिकामा मासिक १० लाखको नोकरी छोडेर गाउँमै फर्किएका खडाले यो रुटमा व्यवस्थीत रिसोर्ट, लज, लेकाली खर्कमा भैंसीपालन लगायतको योजना बनाएको सुनाए ।












प्रतिक्रिया