दशैंमा समेत तलब पाएनन् कर्मचारीले

0
Shares

नेपाल समाचारपत्र, बैतडी
दशैंको मुखमा बैतडीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरूले तलब पाएका छैनन्। प्रदेश सरकार मातहत स्थापना भएका केही कार्यालयका कर्मचारीहरूले गएको साउनदेखि तलब पाउन सकेका छैनन्। दशैंमा समेत तलब नपाउँदा समस्या भएको कर्मचारीहरूले बताएका छन्।

दशैंको मुखमा समेत तलब नपाउँदा आफूहरूलाई निकै समस्या भएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत स्थापना भएको कृषि ज्ञान केन्द्रका कर्मचारीले साउनदेखि तलब नपाएको चन्दको भनाइ छ। उनले भने– ‘मेरो २६ वर्षे सरकारी जागिरको यात्रामा दशैंको बेला तलब नपाएको पहिलो पटक भएको हो।’ यस्तै भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटन बैतडीका कर्मचारीले पनि तलब पाउन सकेका छैनन्। दशैंअघि तलब पाउने आस मरिसकेको भेटनरी अस्पताल तथा पशुुसेवा विज्ञकेन्द्रका पशुसेवा प्राविधिक बिसन विष्टले जानकारी दिए।

‘डिभिजन वन कार्यालय, साविकको भूसंरक्षण कार्यालयका कर्मचारीहरूले पनि तलब पाउन सकेका छैनन्। प्रदेश सरकार मातहतका केही कार्यालयका कर्मचारीहरू तलब पाएको भए पनि चारओटा कार्यालयको अख्तियारी नै नआएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सहायक सूचना अधिकारी पूर्णानन्द जोशीले बताए। उनले भने– ‘अहिलेसम्म अख्तियारी नआएका कार्यालयको दशैंअघि अख्तियारी आउने सम्भावना कम रहेको छ।’

प्रदेश सरकार रहेका कार्यालयहरूको तलब नपाउँदा नेपालीहरूको मुख्य चाड दशैंतिहार नै खल्लो हुने भन्ने चिन्तामा कर्मचारी रहेका छन्। यसैबीच सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेका बैतडीका सरकारी कार्यालयहरू कामविहीन बनेका छन्। नयाँ संरचनाअनुसार बैतडीमा स्थापना भएका कार्यालयहरू कार्यक्रम र अख्तियारी नपाउँदा कामविहीन बनेका हुन्।