आइसल्यान्डसँग रोकियो फ्रान्स


लन्डन, (एजेन्सी)
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विश्वविजेता फ्रान्स आइसल्यान्डसँग बराबरीमा रोकिएको छ।

बिहीबार राति भएको खेलमा फ्रान्स आइसल्यान्डसँग २–२ गोलको बराबरीमा रोकिएको हो। हारतर्फ उन्मुख भएको खेलको ९०औं मिनेटमा क्लियन एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई हारबाट जोगाएका हुन्। खेल २–२ गोलको बराबरीमा टुंगिएको हो।

आइसल्यान्डका विरकिर विजर्नासन र कारी आर्नासनले गोल गरेका थिए। फ्रान्सका क्लियन एम्बाप्पेले एक गोल गरेका थिए भने आइसल्यान्डका होल्मारले आत्मघाती गोल गरेका थिए। खेलको ३०औं मिनेटमा विरकिरको गोलबाट आइसल्यान्डले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो। खेलको ५८औं मिनेटमा कारीले गोल गरेपछि आइसल्यान्डले विश्वविजेताविरुद्ध २–० को अग्रता लिएको थियो। दुई गोलले पछि परेपछि फ्रान्सले खेलमा दबाब सिर्जना गरेको थियो।

खेलको ८६औं मिनेटमा होल्मारले आफ्नै गोलपोस्टमा बल छिराएपछि फ्रान्स खेलमा फर्किएको थियो। खेलको ९०औं मिनेटमा स्टार एम्बाप्पेले गोल गरेपछि फ्रान्स हारबाट जोगियो।
बिहीबारै भएको अन्य मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले पनि ईरानलाई ४–० फराकिलो गोलअन्तरले पराजित गरेको छ। अर्जेन्टिनाको जितमा मार्टिनेजले खेलको १८औं मिनेटमा गोलको खाता खोलेका थिए। पहिलो हाफसम्म १–० ले अघि रहेको अर्जेन्टिनाका लागि पेरेएराले खेलको ५३औं मिनेटमा अग्रता दोब्बर पारेका थिए। यस्तै ८२औं मिनेटमा पेज्जेला र इन्ज्यूरी समयको पहिलो मिनेटमा सेर्भीले एक–एक गोल गरेपछि अर्जेन्टिनाको गोलसंख्या चार पुगेको थियो।

यस्तै अन्य मैत्रीपूर्ण खेलमा स्पेनले वेल्सलाई ४–१ ले हराउँदा यूएई र होन्डूरसले १–१ तथा टर्की र बोस्निया हर्जगोभिनाले गोलरहित बराबरीमा खेल टुंग्याए।