ब्रिगेडको अग्रता मनाङद्वारा अस्वीकार


नेपाल समाचारपत्र
काठमाडौं
शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आफ्नो पहिलो खेलमा मनाङ मस्र्याङदी क्लबले सानदार पुनरागमन गर्दै ब्रिगेड ब्वाइज क्लबको अग्रता अस्वीकार गरिदिएको छ।

शुक्रबार भएको पहिलो चरणको अन्तिम खेलमा मनाङले ब्रिगेड ब्वाइज क्लबसँग १–० ले पछाडि परेको अवस्थालाई उल्ट्याएको हो। दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै मनाङले ३–१ ले खेल जित्यो। टोलीलाई जित दिलाउन ओलावालेले दुई गोलको योगदान दिए। एक गोल हेमन गुरुङले थपेका थिए। ब्रिगेडका लागि रजत तिवारीले गोल गरेका थिए।

अघिल्लो दिन मात्रै अन्तर्राष्ट्रिय प्रिमियम ह्वीस्की ब्रान्ड सिग्नेचरसँग प्रायोजन सम्झौता गरेको मनाङका लागि यो जितले शीर्ष स्थानसमेत दिलायो। पहिलो चरणमा जित्ने टोलीमा मनाङसँगै संकटा, थ्रीस्टार र पुलिस रहेका छन्। साथै लिगको पहिलो चरण पनि समाप्त भएको छ। दोस्रो चरणको खेल तिहारपछि हुने एन्फाले जनाएको छ।

ब्रिगेडले २९औं मिनेटमा रजतको गोलमार्फत् आश्चर्य ढंगमा मनाङविरुद्ध अग्रता लिएको थियो। उनले डिबक्स बाहिरबाट गरेको कडा प्रहार गोलमा परिणत भएको थियो। त्यसो त पहिलो हाफमा मनाङले राम्रो एट्याक बनाएको थियो। तर गोल भने गर्न सकेन।

दोस्रो हाफ शुरू भएलगत्तै मनाङले बराबरी गोल फर्काएपछि खेलमा पकड बनाउन शुरू गरेको थियो। डिबक्स बाहिरबाट हेमनले गरेको प्रहार विदेशी खेलाडी आडेलाजासँग डिफ्लेक्ट हुँदै गोल भएको थियो। यसपछि विदेशी खेलाडी ओलावालेले डिबक्सभित्रबाट गोल गर्न सफल भए। उनले ५७औं मिनेटमा गरेको गोलले मनाङ खेलमा पहिलोपटक अग्रतामा रह्यो। उनले ७७औं मिनेटमा र इन्जुरी समयमा गरी दुईपटक गोल गर्न चुके। तर इन्जुरीको चौथो मिनेटमा क्लोज रेन्जमा गोल गर्दै मनाङको ३–१ को जित सुनिश्चित गरेका थिए।

यसअघि भएको नेपाल एपीएफ क्लब र हिमालयन शेर्पा क्लबबीचको खेल गोलरहित बराबरीमा टुंगियो। योसमेत पहिलो चरणमा ३ खेल बराबरीमा सकिएका छन्। उद्घाटन खेलमा एनआरटी र आर्मी तथा मच्छिन्द्र र च्यासले बराबरी खेलेका थिए।