कृष्णलाल महर्जन
अध्यक्ष, ललितपुर उद्योग वाणिज्य संघ
ललितपुर उद्योग वाणिज्य संघ नेपालको चेम्बर अभियानमा नेपाल उद्योग वाणिज्य महासंघको हाराहारीमा स्थापित संस्था हो। गत वर्ष ५०औं स्थापना दिवस एवं स्वर्णजयन्ती मनाएको संघ अहिले ५१ वर्षमा हिँडिरहेको छ।
सिंगो राष्ट्र अहिले समृद्धिको आवाजले गुञ्जायमान छ, सरकार प्रमुखदेखि लिएर सबै मन्त्रीले सुखी नेपाली र समृद्ध नेपाल सरकारको निर्दिष्ट लक्ष्य बताइरहेका छन्। निजी क्षेत्रले यसलाई कसरी लिइरहेको छ? आर्थिक सृमद्धिको दिशामा जिल्लाले के–कस्तो भूमिका निर्वाह गर्न सक्दछ भन्ने विषयमा संघका अध्यक्ष कृष्णलाल महर्जनसँंग नेपाल समाचारपत्रका लागि सुनील महर्जनले गरेको कुराकानी ः
नेपाली र समृद्ध नेपालको नारालाई यहाँले कसरी लिइरहनुभएको छ ?
संविधान बमोजिम भएको पहिलो निर्वाचनपछि पक्कै पनि मुलुक आर्थिक विकासको दिशामा अघि बढ्नुपर्ने हो। प्रत्येक नेपाली सुखी र राष्ट्र समृद्धिको मार्ग अघि बढ्नुपर्ने नै हो। तर, विडम्बना नयाँ सरकार गठन भएको झन्डै ७ महिना बितिसक्दा पनि आर्थिक क्षेत्रमा सुधारका संकेत देखिएको छैन। हिजोको नौ ÷नौ महिनामा फेरिने सरकारको ठाउँमा अहिले ५ वर्षका लागि दुई तिहाई बहुमतको समर्थन भएको सरकार पाएका छौं। तर, हाम्रो काम गर्ने शैली फेरिएको अनुभूत भएन।
सरकारको समृद्धिको नाराले शुरुमा सबैलाई उत्साहित तुल्याएको थियो। निजी क्षेत्रले व्यर्होनु परिरहेको दोहोरो, तेहोरो करले मुलुक समृद्धिको दिशातर्फ अघि बढिरहेको अनुभूत गर्न सकिरहेको छैन। समयसंँगै उत्साह सेलाउँदै गएको पाइएको छ। अतः सरकारले मुलुक समृद्धिको दिशामा अघि बढिरहेको अनुभूत गराउने कार्य गर्नुपर्छ।निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीमैत्रीको वातावरण बनाउने दिशामा ठोस कार्य सरकारले गर्नुपर्छ। त्यस्ता कार्यमा सघाउन निजी क्षेत्र तयार रहेको छ। सरकारले समृद्धिको नारा दोहोर्याएझंै व्यवहारमा पनि नयाँपन दिनसक्नुपर्छ। नभए समृद्धि हावादारी गफमा सीमित हुनेछ।
समृद्धिका लागि कस्तो वातावरण हुनुपर्दछ ?
समृद्धिको लागि उत्साहको वातावरण हुनुपर्दछ। समृद्धिका लागि सबैले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्छ। लगानीमैत्रीको वातावरणको हुनुपर्छ। राज्यसंयन्त्र चुस्त दुरुस्त हुनुपर्छ। अहिलेको समयमा मुलुक समृद्धिको दिशामा अघि बढ्न सकेन भने आर्थिक विकासको महत्वको समय हामीले खेर फालेका हुन्छौं।
समृद्धिको दिशामा ललितपुरले के–कस्तो योगदान दिन सक्छ ?
ललितपुरको सम्भावना भनेको नै पर्यटन उद्योगको विकास, कृषिको व्यावसायीकरण र हस्तकला नै हो।
ललितपुरलाई हस्तकलाको शहरका रूपमा विकास गर्नुपर्ने कुरो सधैं सुनिन्छ। तर, सुनेअनुसार केही काम नहुनुको कारण के हो ?
हो, हामीले ललितपुरलाई हस्तकलाको शहरको रूपमा विकास गर्नुपर्दछ भनेर संघ, प्रदेश र स्थानीय तहमा भन्दै आइरहेका छौं। ललितपुरलाई सांस्कृतिक, पर्यटकीय, हस्तकलाको नगरीको रूपमा विकास गर्नुपर्ने ललितपुर उद्योग वाणिज्य संघको जोड रहेको छ। अहिले आएर नेपाल हस्तकला महासंघसँंग मिलेर विश्व कला परिषद्बाट ललितपुरलाई हस्तकलाको शहर घोषणा गराउन जुटिरहेका छौं। परिषद्को एसिया प्यासिफिकको हालै सम्पन्न साधारणसभामा यसबारे ध्यानाकृष्ट गराएका थियौं। हस्तकलाको शहरको घोषणा गर्न आवश्यक सबै मापदण्ड ललितपुरमा विद्यमान रहेको छ। त्यसैले चाँडोभन्दा चाँडो ललितपुरलाई हस्तकलाको शहर घोषणा गर्नुपर्दछ। कलाको शहर घोषणा भएमा यहाँको मूर्त, अर्मूत कला, संस्कृतिको संरक्षणमा ठूलो टेवा पुग्ने छ।
हस्तकलाको शहर घोषणा भएमा के प्रभाव पर्दछ ?
कलाको शहरको घोषणाले कलाको शहरको रूपमा विश्वसामु आधिकारिक मान्यता पाउने छ। विश्व कला परिषद्अन्तर्गतका ८० राष्ट्रसहित बढीभन्दा बढी राष्ट्रको ध्यान ललितपुरमा आकृष्ट हुनेछ। घोषणाबाट ऐतिहासिक, सांस्कृतिक रूपले समृद्ध ललितपुरको कला संस्कृति संरक्षणसंँगै हस्तकलाको उत्पादनको बजारीकरण र कलाकारको महत्व बढ्ने छ। घोषणाले कलाको शहरको रूपमा विश्वसामु आधिकारिक मान्यता पाउनेछ। स्थानीय तह, प्रदेश सरकार र संघलाई सोही अनुरूप यसको व्यवस्थापन, कला संस्कृतिमैत्री कानुन निर्माणका लागि अप्रत्यक्ष दबाब सिर्जना गने छ।
ललितपुरमा कृषि क्षेत्रको विकासको सम्भावना कतिको रहेको छ ?
ललितपुरको दक्षिणी पहाडी भेगमा व्यावसायिक कृषिको निकै ठूलो सम्भावना छ। यस जिल्लामा उत्पादित दूध तथा तरकारीको बजारीकरण अझै राम्रोसँग हुन सकिरहेको छैन। कृषिमा आधुनिक प्रविधि अवलम्बन गर्र्दै अर्गानिक खेती गर्न सकिएमा उत्पादनको स्रोत सुनिश्चित गरी त्यसको निर्यात गर्नेे सम्भावना निकै रहेको छ। आगामी दिनमा ललितपुरमै तरकारी बजार केन्द्र स्थापना गर्न पहल गर्नेछौं।
ललितपुर उद्योग वाणिज्य संघको कार्य आर्थिक सम्भावनालाई मूर्तरूप दिनेतिर लक्षित छ त ?
अहिलेसम्म स्वर्ण जयन्ती मनाउने अवसर निकै कम उद्योग वाणिज्य संघले मात्र पाएको छ। स्थापनाको ५० वर्ष पुगेका देशभरका एकाध उद्योग वाणिज्य संघमध्ये ललितपुर उद्योग वाणिज्य संघ एक अग्रणी संघको रूपमा रहेको छ।
नेपाल उद्योग वाणिज्य महासंघ स्थापना भएको समयमै यस संघको स्थापना भएको थियो। देशभरका जिल्ला नगर उद्योग वाणिज्य संघमाझ संघले आफ्ना कार्यक्रममार्फत् सधंै उत्कृष्ट सावित गर्दै आएको छ। यस पृष्ठभूमिमा ललितपुर उद्योग वाणिज्य संघको ५०औं स्थापना दिवस एवम् स्वर्ण जयन्ती जिल्लाका आम उद्यमी व्यवसायीका लागि चीरस्मरणीय, चीरप्ररेकको रूपमा मनाउन सफल भएको हाम्रो मूल्याकंन रहेको छ।
स्वर्ण जयन्तीको अवसरमा भए गरेका महत्वपूर्ण कार्यले संघको भिजिबिलिटी, अपनत्व र संघर्षलाई थप उचाई प्रदान गरेको छ। सरकारले अघि सारेको सुखी नेपाली र समृद्ध नेपालको लागि स्वर्ण जयन्तीको अवसरमा आयोजित मेला बृहत् परिप्रेक्ष्यमा सानो भए पनि समृद्धितर्फ अघि बढाउन सरकार, प्रदेश र स्थानीय तहलाई सकारात्मक दबाब दिएको छ।
स्वर्णजयन्तीको अवसरमा भए/गरेका गतिविधिको महत्व के–कस्तो रहेको छ ?
संघले स्वर्ण जयन्तीको अवसरमा वर्षभरि विविध कार्यक्रम गरी मनाउने निर्णय गरेको थियो। सोही अनुरूप स्मारक अनावरण, प्रोडक्टिभी अवार्डलगायत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको समयमा संघको ३८औं साधारणसभा सम्पन्न भयो। सो साधारणसभाबाट संघको अध्यक्षमा म निर्वाचित भए। निर्वाचित भएदेखि नै स्वर्ण जयन्तीलाई कसरी व्यापकता दिने, मुलुकको आर्थिक समृद्धिमा केही महत्वपूर्ण सन्देश दिने, सामाजिक क्षेत्रमा ठोस सन्देश दिने काम गर्ने बारे मेरो नेतृत्वको कार्यसमितिमा छलफल भइरहेको थियो। स्वर्ण जयन्तीलाई एउटा उत्सव, एउटा प्रेरणा, एउटा गौरव र संघको, उपलब्धिलाई व्यापक प्रचारप्रसार गर्ने तवरले मनाउनुपर्ने मुख्य जोड थियो।
चार दिने ललित अन्तर्राष्ट्रिय व्यापार मेला सोही जोडको परिणति थियो। यसमार्फत भर्खरै अस्तित्वमा आएको प्रदेश सरकार, स्थानीय सरकार र केन्द्र सरकार समक्ष संघका सरोकार, एजेन्डालाई ध्यानाकर्षण गराउन सफल भएको छ। ललितपुरको व्यापार प्रवद्र्धन र यहाँ उत्पादित सामग्रीको अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रवद्र्धन गर्ने प्रयास स्वरूप पनि सो मेलाले आयोजना गरेका हौं। हरेक वर्ष निरन्तर मेला गर्नका लागि सो मेला महत्वपूर्ण पहलकदमीको रूपमा रहेको छ।
यसबाट आर्थिक विकासका लागि तीन वटै तहका सरकारसंँग सहकार्यको वातावरण बनाउन सक्यौं। मेलाको दोस्रो दिन सिक्का निष्कासन र ज्येष्ठ नागरिक सम्मान, तेस्रो दिन विभिन्न राजदूत तथा कूटनीतिक नियोग प्रमुखलाई यहाँका ऐतिहासिक सम्पदाको अवलोकन गराइएको छ। मेलाले ललितपुरका सम्भावनाहरू देशभित्र मात्र नभई मुलुक बाहिर पनि उजागर गर्न सफल भएको छ। छोटकरीमा भन्नुपर्दा संघको ५० वर्षको इतिहासको गौरव गर्दै, वर्तमानको मूल्याकंन र भविष्यको रेखा कोर्न सफल भएका छौं।
अरू के–के महत्वपूर्ण काम भएको छ ?
युवावर्गलाई रोजगारी अवसर सिर्जना गर्न विभिन्न तालिम सञ्चालन, बजेट सम्बन्धमा छलफल, लुभुलाई टेक्सटायलकोे औद्योगिक ग्रामको रूपमा स्थापना गर्नेलाई निकै प्राथमिकतामा राखेका छौं। त्यसैगरी समसामयिक विषयमा व्यावसायिक सचेतना, ललितपुरको दक्षिणी भेगस्थित माझखण्डको परियोजनालाई सहजीकरण गर्ने कार्य शुरु गरेका छौं। जिल्लाको आर्थिक सम्भावना र व्यावसायिक वातावरणका लागि भएका विभिन्न प्रयासलाई समष्टिगत रूपमा भन्ने हो भने एक वर्षमा भएको कार्यले संघलाई नयाँ उचाई र आफ्नो गन्तव्यसम्म पुग्न थप सशक्त र व्यापक बनाएको छ।
आउँदो वर्ष के–के काम गर्ने सोच बनाउनुभएको छ ?
संघको गतिविधिलाई जिल्लाको तीन वटै नगरपालिका र तीन वटै गाउँपालिकामा केन्द्रित गर्ने छौं। आर्थिक सम्भावनालाई पहिचान गरी त्यसलाई मूर्त रूप दिन लगानीको वातावरण तयार गर्ने, उद्योगी व्यवसायीहरूलाई क्षमता विकास गर्दै जाने छौं। जिल्लाको दक्षिणी भेगमा उत्पादित दूध तथा तरकारीको बजारीकरण अझै राम्रोसँग गर्न सकिरहेको छैन।
कृषिमा आधुनिक प्रविधि अवलम्बन गर्र्दै अर्गानिक खेती गर्न सकिएमा उत्पादनको स्रोत सुनिश्चित गरी यसलाई पनि निकासीको सम्भावना उत्तिकै छ भने आन्तरिक खपतका लागि पनि उत्पादन बढाउनु जरुरी छ। यही क्रममा ललितपुरलाई हस्तकलाको शहर निर्माणको अभियानमा जुट्ने छौं। मूलतः यहाँ उत्पादित वस्तुको बजार ग्यारेन्टी अहिलेको सबैभन्दा महत्वपूर्ण पक्ष हो। यसका लागि पनि नेपाल सरकार, कूटनीतिक निकाय, निर्यातजन्य व्यवसायी लगायतसँग नजिकमा रहेर काम गर्ने छु।
त्यसैगरी लुभुमा रहेका टेक्सटायल उद्योग हाम्रो जिल्लाकै औद्योगिक सान हो। अहिले छरिएर रहेका यी उद्योगलाई पनि एकीकृत गरेर अघि बढ्न सकियो भने यसबाट पनि मुलुकको व्यापारघाटालाई न्यूनीकरण गर्न सकिन्छ। टेक्सटायल उद्योग आफैंमा ठूलो ‘भ्यालु एड’ हुने क्षेत्र भएकाले यसको संरक्षण, प्रवद्र्धन र प्रविधिगत रूपान्तरणका लागि संघले स्थानीय सरकार र व्यवसायीहरूसँग सहकार्य गर्नेछ।
युवावर्गलाई रोजगारी उपलब्ध गराउने दिशामा के गर्नुहुन्छ त ?
अहिलेको सरकारले अघि सारेको ५ लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य पूरा गर्न पनि सरकारसँग सहकार्यको खाका सहित प्रस्ताव पेश गर्ने छौं। सरकारको पनि लक्ष्य पूरा हुने र हाम्रा बेरोजगार युवा वर्गले पनि रोजगारी पाउने भएकाले हामी सरकारसँग यसका लागि ठोस प्रस्ताव पेश गर्ने छौं। यस जिल्लामा रहेका व्यवस्थापन र प्राविधिक शिक्षा अध्ययन गराउने कलेजमार्फत युवालाई पनि दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ भन्ने संघको मान्यता रहेको छ।
पर्यटन उद्योग प्रवद्र्धनमा के गर्ने सोच रहेको छ ?
मुलतः ललितपुर आउने पर्यटकलाई हामीले अधिकतम् समय यतै राख्ने अर्थात दिनभर यहाँ रमाउन सक्ने वातावरण बनाउनुपर्छ। अहिले त हामीले उनीहरूलाई औसत ३ घन्टाभन्दा बढी बसाउन सकिरहेका छैनौं। यसका लागि ठूला होटल स्थापनाको पहल गर्नुपर्छ भने होमस्टे लगयातको अवधारणलाई पनि थप परिस्कृत गर्दै अघि बढाउनुपर्दछ।
अर्कोतर्फ, काठमाडौं उपत्यकाबासीलाई अहिले बिदा मनाउने ठाउँ एकदमै सीमित छन्। भर्खरै खुलेको चन्द्रागिरीको भीडभाड हेर्दा लाग्छ कि हामीसँग ललितपुरमा दर्जनौं चन्द्रागिरी छन्। तर, तिनमा हामीले प्रचारप्रसार गरेर भ्यालु एड गर्न सकेका छैनौं। हामीले सम्भावना भएर पनि पूर्वाधारको अभावमा आकर्षित गर्न सकिरहेका छैनौं। यसैले माझगाउँलगायतका स्थलका पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरूमा ‘युनिक पर्यटकीय प्रोडक्ट’ सहित लगानीका लागि पनि विशेष योजना अघि सार्ने छौं।
भूकम्पपछि सबैभन्दा सुरक्षित शहरका रूपमा रहेको ललितपुर जिल्लाको पर्यटकीय प्रचार प्रसारलाई थप तीव्रता दिनेछौं।
सम्भावनालाई मूर्त रूप दिन आवश्यक लगानी कसरी जुटाउने त ?
ललितपुरको असीमित सम्भावना उजागर गर्दै त्यसमा लगानीका लागि हामीले निकट भविष्यमा नै ‘पाटन लगानी मिट’ आयोजना गर्ने योजना बनाएका छौं। स्वदेशी लगानीकर्ता र गैरआवासीय नेपालीसमेतको सहकार्यमा यस्तो लगानी सम्मेलनले वैदेशिक लगानीकर्तालाई समेत आकर्षित गर्न सकिन्छ भन्ने हाम्रो विश्वास रहेको छ। यसको मोडालिटीका विषयमा थप छलफल गरेर अघि बढ्नुपर्नेछ।
संघले भीमसेन मन्दिर बनाउने कुरो कहाँ पुगिरहेको छ ?
भिमसेन मन्दिरलाई व्यापारीको मुख्य देवता मानिन्छ। विश्व सम्पदामा सूचीकृत पाटन दरबारमा अवस्थित भिमसेन मन्दिर भूकम्पले क्षति पुर्याएको छ। यसको पुनर्निर्माणको लागि संघको ध्यानाकर्षण गराउने र पहल गर्ने प्रतिबद्धता लामो समयदेखि व्यक्त गर्दै आएको थिए।
भूकम्पले क्षति पुर्याएको विश्व सम्पदामा सूचीकृत पाटन भीमसेन मन्दिर मर्मत–सम्भार गर्न पुरातत्व विभागले भारतीय दूतावासलाई दिने निर्णय गरिसकेको अवस्थालाई संघ जिम्मेवारी दिने प्रक्रियागत पहल भइरहेको छ। हामीले पत्रकार सम्मेलनमार्फत पुनः निर्माणको जिम्मेवारी लिएको सार्वजनिक घोषणा गरिसकेका छौं। सरोकारवाला निकायसंग समन्वय गरेर पुनर्निर्माणको कार्य चाँडै शुरु गर्ने छौं।
संघ संयोजन रहेको यल पर्व सांस्कृतिक संरक्षण समितिले के गरिरहेको छ त ?
ललितपुरमा धेरै मूर्त, अमूर्त संस्कृतिहरू छन्। तीमध्ये कतिपय जेनतेन, कति लोपोन्मुख रहेका छन्। यही अमूर्त संस्कृतिमध्ये दशैंको अवसरमा पाटन दरबार क्षेत्रमा सञ्चालन हुने मुछेँ आँगनमा नित्य पूजासंँगै पायो जात्रा, नवदुर्गा नाच रहेका छन्। ती पर्वहरू सञ्चालनका लागि सम्बद्ध गुठीयारहरू रहेको यल सांस्कृतिक पर्व संरक्षण समिति गठन गरिएको छ। त्यसको संयोजन गर्ने जिम्मेवारी ललितपुर उद्योग वाणिज्य संघलाई दिएको छ।
सोही अनुरूप संघले पर्व सञ्चालनका लागि स्थानीय तहको ध्यानाकर्षण गराउने, गुठीयारहरूबीच छलफल गर्ने कार्य गर्दै आएको छ। सोही कार्यलाई निरन्तरता दिइरहेको छ। यस पटकको दशैंमा मुछे आगन घरको पुनःनिर्माणसंगै पायो जात्रा र नवदुर्गा नाच सञ्चालन गर्ने तयारी भइरहेको छ। ती संस्कृतिहरू संरक्षण गर्नुपर्ने खाँचो छ। ती संस्कृतिको माध्यमबाट पर्यटन उद्योग प्रर्वद्धन गर्ने सकिन्छ। यही कुरोलाई संघले अगाडी बढाइरहेको छ।ललितपुर महानगरपालिकालाई पनि यस विषयमा गम्भीर बन्न घचघच्याइरहेका छौं।
छरिएर रहेका यी उद्योगलाई पनि एकीकृत गरेर अघि बढ्न सकियो भने यसबाट पनि मुलुकको व्यापारघाटालाई न्यूनीकरण गर्न सकिन्छ। टेक्सटायल उद्योग आफैंमा ठूलो ‘भ्यालु एड’ हुने क्षेत्र भएकाले यसको संरक्षण, प्रवद्र्धन र प्रविधिगत रूपान्तरणका लागि संघले स्थानीय सरकार र व्यवसायीहरूसँग सहकार्य गर्नेछ।
प्रतिक्रिया