थ्रीस्टार र पुलिसको जित


नेपाल समाचारपत्र
काठमाडौं
शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बिहीबार थ्रीस्टार क्लब र नेपाल पुलिस क्लबले जित हात पारेका छन्।

सातदोबाटोस्थित एन्फाको मैदानमा भएको पहिलो खेलमा ललितपुरको डर्बी खेलमा थ्रीस्टारले फ्रेन्डस् क्लबलाई २–१ ले हरायो। त्यस्तै दोस्रो खेलमा विभागीय टोली पुलिसले जावलाखेल युथ क्लबलाई १–० गोलअन्तरले पन्छाएको थियो। अजीत भण्डारीले गरेको गोल नै निर्णायक हुँदा टोलीले जित हासिल गर्यो। अजीतले ३२औं मिनेटमा अजीतले तेज तामाङले गरेको क्रस गोलमा परिणत गरेका थिए।

यसअगाडिको खेलमा थ्रीस्टारले फ्रेन्डस्लाई पूरै दबाबमा राखेको थियो। टोलीको जितमा रन्जन विष्टले पहिलो हाफमा र बुद्ध चेम्जोङले दोस्रो हाफमा गोल गरेका थिए। एक गोल फ्रेन्डस्का लागि वैकल्पिक खेलाडी विकास लामाले फर्काए। तर त्यो गोल इन्जुरी समयमा हुँदा फ्रेन्डस्का लागि खेलमा फर्कने समय पर्याप्त भएन।

मैदान आएको करिब ६ मिनेटमा उनले गोल गरेका थिए।

रन्जनले १७औं मिनेटमा गोल गर्दै थ्रीस्टारलाई १–० को अग्रतामा राखेका थिए। उनको यो गोल उत्कृष्ट बनेको थियो। मध्यभागबाट बल लगेर विपक्षी डिबक्समा पुग्दै उनले पेनाल्टी क्षेत्रबाट जाली चुमाएका थिए। उनलाई रोक्न पे्रmन्डस्का कोही पनि डिफेन्डर सफल भएनन्। त्यसो त २५औं मिनेटमा फ्रेन्डस्का कप्तान धीरज श्रेष्ठले गोल गर्ने अवसर पाएका थिए। तर उनी गोल गर्नबाट चुके। फलस्वरूप पहिलो हाफ थ्रीस्टारले १–० को अग्रतामै टुंग्यायो।

दोस्रो हाफमा पनि थ्रीस्टारको प्रदर्शन आक्रमक बनेको थियो। बुद्धले ५७औं र ६९औं मिनेटमा गोल गर्न नजिक पुगेका थिए। पहिलोमा निराजन खड्काले बल उनीतिर राम्ररी सप्लाई गरेका थिए। तर उनले त्यसलाई गोल गर्न सकेनन्।

त्यस्तै अर्को पटक सुनील बलको क्रसमा बुद्धको हेड प्रहार बाहिरिएको थियो। उनले ८३औं मिनेटमा भने गोल गर्दै टोलीको जित सुनिश्चित गरे। उनले डिबक्स बाहिरबाट गरेको प्रहारले गोलको दिशा लिएको थियो।