संघीयताको कार्यान्वयन कर्मचारीमा निर्भरः देव गुरुङ

0
Shares

नेपाल समाचारपत्र, लमजुङ ।
संघीय संसदमा नेकपाका प्रमुख सचेतक देव गुरुङले संघीयताको कार्यान्वयन कर्मचारीमा निर्भर रहने बताउनु भएको छ । नेपाल निजामति कर्मचारी संगठन र राष्ट्रिय कर्मचारी संगठन निजामति लमजुङको संयुक्त आयोजनामा गरिएको वडादशैँ तथा दिपावली र छठको शुभकामना आदानप्रदान कार्यक्रमको मंगलबार बेसीशहरमा उदघाटन गर्दै उहाँले त्यस्तो बताउनु भएको हो ।

कर्मचारीतन्त्र स्थायी सरकार भएको हुँदा संघीयताको सफल गराउने दायित्व कर्मचारीको काँधमा रहेको छ, त्यसैले द्विविधारहित ढंगले उच्च मनोबलका साथ काम गरेमा संघीयता सफल हुन्छ भन्नु भयो । संघीयता सफल हुनुभनेको वर्तमान सरकारमात्र सफल हुने नभई राज्य पनि सफल हुने हुन्छ, संघीयता असफल भएमा राष्ट्रिय स्वाधिनतामा पनि धक्का लाग्न सक्ने हुन्छ त्यसैले यसको कार्यान्वयनमा कर्तव्य निष्ठ हुन आवश्यक छ उहाँले जोड दिदै भन्नुभयो ।

संघीयतालाई तीन टायर व्यवस्थाको संज्ञा दिदै गुरुङले यसअघिको नेपाल र विश्वका धेरै राष्ट्र दुई टायर व्यवस्थामा छन् । तर हामीले तीन टायर पद्दतिको अवलम्बन गरेको हुँदा यो हाम्रै देशको हावापानी सुहाउँदो छ उहाँको दावी थियो । उहाँले संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारी फरक रहेको बताउँदै भन्नुभयो ‘संघको काम नीति र विधिको निर्माण गर्ने, मेघा परियोजनाको सञ्चालन गर्ने र अधुरा रहेका केन्द्रस्तरका मेघा आयोजनाको निर्माण गरि प्रदेशलाई सुम्पनु हो भन्नुभयो । त्यस्तै, प्रदेशको काम विकासका मोडेलको निर्माण गर्ने ठूला आयोजनाको सञ्चालन गर्ने रहेको उहाँको भनाई छ । स्थानीय तहले सुशासनको प्रत्याभूतिका साथ जनताको सेवा गर्ने, घरघरमा सरकार पुगेको अनुभूति गराउँदै लोकतन्त्रको मर्म बुझाउनु र स– साना विकासका काम गर्नु हो उहाँले भन्नुभयो ।

उहाँले संघीयता भनेको सहमतिको लोकतन्त्र हो भन्दै संविधानले सत्ता पक्ष र प्रतिपक्षको कल्पना गरेको भए पनि संघले अधिकांश काम सहमतिमा गर्ने गरेको बताउनु भयो । उहाँले भन्नुभयो, यो वीचमा निर्माण गरिएका २२ वटा कानुन प्रायः सर्वदलीय सहमतिमा निर्माण भएको भन्दै उदाहरण दिनु भएको थियो । उहाँले वर्तमान अवस्थामा कुल कर्मचारी संख्या ८५ हजार रहेको तर अब तीन तहका सरकारका लागि संघमा ४५ हजार, प्रदेशमा २१ हजार र स्थानीय तहको दरबन्दी अनुसार ५७ हजार कर्मचारीको आवश्यकता देखिन्छ । त्यसको पूर्ति गर्नका लागि कानुनको अभाव भएको कारण काजबाट काम चलाउ गरिएको छ, त्यस समस्याको छिट्टै समाधान हुन्छ भन्नुभयो ।

अर्को एक प्रसंगमा उहाँले सरकारलाई असफल बनाउने प्रयत्नमा विभिन्न शक्ति केन्द्रहरू लागेको र तिनको चाहना ६, ६ महिनामा सरकार बदल्ने रहेको त्यसमा पनि कम्युनिष्टको सरकार देख्न नचाहेको दावी गर्र्दै खुला सीमा पनि यसको एक कारक हो भन्नुभयो । उहाँले खाद्यान्नमा समेत पर निर्भर रहनु परेका कारण स्वभिमानपूर्वक राष्ट्रका पक्षमा निर्णय लिन कठिन हुने रहेछ, त्यसैले २ वर्ष भित्र कृषिमा आत्म निर्भर बनाउन सरकार लागि परेको छ भन्नुभयो । उहाँले सरकारले राम्रो काम गरेको दावी गर्दै पछिल्लो छ महिनाको अवधिमा संकलन भएको राजस्व विगत वर्षको भन्दा बढी उठ्नु यसको उदाहरण हो भन्ने दावी गर्नुभयो ।

सो अवसरमा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले अब डेलिभरी दिने बेला आएको छ, सरकार बहाना गरेर पन्छिन मिल्दैन भन्नुभयो । उहाँले अप्ठेरो पार गरेपछि मात्र सहज स्थिति आउने र काम गर्नेको नै विरोध हुने हुँदा निष्ठाका साथ इमान्दारपूर्वक काम गर्न जरुरी छ भन्नुभयो ।

नेपाल निजामति कर्मचारी संगठनका जिल्ला अध्यक्ष इन्जिनियर कमल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डे, बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले शुभकामना व्यक्त गर्नु भएको थियो । बेसीशहर नगरपालिकाका उपमेयर लक्ष्मी अधिकारी, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले समेत शुभकामना व्यक्त गरेको कार्यक्रमको सञ्चालन राष्ट्रिय कर्मचारी संगठन निजामति लमजुङका अध्यक्ष शम्भु चापागाईले गर्नु भएको थियो ।