पीएसजीको जितमा एम्बाप्पेको ४ गोल


पेरिस, (एजेन्सी)
फ्रेन्च लिग वानअन्तर्गत आइतबार क्लियन एम्बाप्पेले ४ गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लियोनलाई ५–० गोलअन्तरले हराएको छ ।

आफ्नै घरेलु मैदानमा भएको खेलमा एम्बाप्पेले १३ मिनेटको अन्तरमा ४ गोल गरेका थिए । फ्रेन्च खेलोडीले ६१, ६६, ६९ र ७४औं मिनेटमा गोल गर्दै सहज जित दिलाए । थप एक गोल नेयमारको नाममा रहेको थियो ।

खेलको नवौं मिनेटमा नेयमारले पेनाल्टीमार्फत् गोल गर्दै पिएसजीलाई सुरूवाती अग्रता दिलाएका थिए । एम्बाप्पेलाई पेनाल्टी एरियामा लियोनका गोलकिपरले लडाएपछि पिएसजीले पेनाल्टी पाएको थियो ।

यस्तै ३५औं मिनेटमा पीएसजीका प्रेस्नेल किम्पेम्बेले सोझो रातो कार्ड पाएर मैदान बाहिरिएपछि टोली १० खेलाडीमा सिमित भएको थियो । यस्तै लियोनका लुकास टुसार्टले ४५औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाउँदै बाहिरिएपछि लियोन पनि १० खेलाडीमै सिमित भयो ।

पहिलो हाफ १–० ले अगाडि रहेको पिएसजीका लागि दोस्रो हाफ एम्बाप्पेमय बन्यो । लिग वान अन्तर्गत ९ खेल खेल्दै शत प्रतिशत जित निकालेको शीर्ष टोली पिएसजीको दोस्रो स्थानको टोली भन्दा ८ अंक बढी रहेको छ ।

बराबरीमा रोकियो बार्सिलोना
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना भ्यालेसिन्यासँग बराबरीमा रोकिएको छ । भ्यालेन्सियाको घरेलु मैदानमा आइतबार राति भएको खेलमा १–१ को बराबरीमा रोकिएको बार्सिलोनालाई २ अंक घाटा लाग्नुका साथै लिग तालिकाको शिर्ष स्थानमा उक्लने मौका समेत गुमाएको छ ।

खेलको सुरुआतमै बार्सिलोना पछि परेको थियो । खेलको दोस्रो मिनेटमै कर्नरमार्फत एजीक्वेल गेरेले गोल गरेपछि घरेलु टोलीले अग्रता लिएको थियो । तर खेलको २३औं मिनेटमा मेसीले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई बराबरीको स्थितिमा ल्याएका थिए ।

त्यसपछि भने खेलमा गोल भएन र दुवै टोलीले समान एक–एक अंक बाँड्यो । बार्सिलोनाले खेलमा ७५ प्रतिशत बल पोजेसन राखेपनि अन्य गोल गर्न सकेन । बराबरी पछि ८ खेलमा १५ अंक रहेको बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । ८ खेलमा १६ अंकसहित सेभिया अंक तालिकाको शिर्ष स्थानमा उक्लेको छ ।

सिटी, लिभरपुल र चेल्सी बराबरीमा
इंग्लिस प्रिमियर लिगमा आठौं चरणको खेल समाप्तिपछि तीन टोली लिभरपुल, म्यानचेस्टर सिटी र चेल्सीले बराबरी अंक बनाएका छन् । आइतबार राति भएको खेलमा लिभरपुल र म्यानचेस्टर सिटीले गोलरहित बराबरी खेलेपछि चेल्सीले जित निकाल्दै उनीहरुको समकक्ष उभिन सफल भयो ।

तीनै टोलीले ८ खेलबाट २० अंक जोडे पनि सिटी राम्रो गोल अन्तरले शिर्ष स्थानमा छ । दोस्रो स्थानमा चेल्सी र लिभरपुल तेस्रो स्थानमा रहेका छन् ।
चेल्सीले साउथह्याम्टनलाई ३–० गोलले हराउँदा ईडेन हार्जाड, रोस बार्कली र आल्भरो मोरटाले गोल गरेका थिए ।