पुष्कर बुढाथोकी, भक्तपुर ।
महानगरीय प्रहरी बृत्त थिमीले सिसी क्यामेराको फुटेज हेरेर एक दुर्घटनाको यथार्थ पत्ता लगाएको छ ।
सोमबार बेलुका मध्यपुरथिमि नगरपालिका ३ गठ्ठाघरको अर्बिट स्कुल अगाडि सडकमा एक ब्यक्ति लडिरहेको र टाउको फुटेर गंभीर अबस्थामा प्रहरीले फेला पारेको थियो ।
प्रहरीले उक्त ब्यक्तिलाई उपचारका लागि नागरिक सामुदायिक अस्पताल लगेकोमा उनलाई अस्पतालले मृत घोषणा गरेको महानगरीय प्रहरी बृत्त थिमीका प्रमुख प्रहरी नायब उपरीक्षक मिलन केसीले बताउनुभयो ।
तर घटनाको प्रकृति र यथार्थ प्रहरीलाई बुझ्न कठिन भयो ।पछि सिसी क्यामेराको फुटेज हेर्दा बागबजारबाट सरस्वतीखेल चल्ने बा ४ ख ३१९१ नम्बरको बसको पछाडि भर्याङ्गबाट आईतबार राती उनी खसेको देखियो ।
मृतक सोही बसको सहचालक भएको तर एकीन ठेगाना नखुलेको अन्दाजी बर्ष २०/२२ को रहेको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो मात्र सोही बसका चालक प्रहरी बृत्तमा आफ्नो बसको सहचालक राती देखि एक्कासी हराएको भन्दै जानकारी दिन आए पछि दुर्घटनाको बास्तबिकता खुलेको थियो ।
प्रहरीले बस र बस चालक भक्तपुर नगारपालिका ३ सुकुलढोका बस्ने बर्ष ४६ का सुन्दर कर्माचार्यलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ । मृतक सहचालक बसको पछाडिबाट एक्कासी खसेको तर खसेको आफुले थाहा नपाएको र सहचालकको खोजी गर्दै आफू प्रहरीकोमा आएको चालक कर्माचार्यले प्रहरीसमक्ष बताएको प्रहरीको भनाई छ ।
चालक कमाचार्यले मृतक सहचालकको नाम र ठेगाना समेत आफुलाई थाहा नभएको प्रहरी समक्ष बताएका छन् ।











प्रतिक्रिया