हेटौंडा ।
प्रदेश–३ का १३ जिल्लामा ‘एक विद्यालय–एक नर्स’ कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ स्वीकृत भएको छ । सामाजिक विकास मन्त्रालयले पेश गरेको उक्त प्रस्ताव सोमबार मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।
मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । सोमबार मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पेश गरेको संगठन संरचना र दरबन्दी सम्बन्धिसहित विविध निर्णय गरेको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पेश गरेका सुरक्षा व्यवस्थापन योजना स्वीकृत गर्ने, प्रहरी एकाईंहरुको भवन निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरिएको छ । उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयले पेश गरेको पयटन विकास आयोजना र आयोजना कार्यान्वनका लागि अस्थायी दरबन्दीको सैद्धान्तिक स्वीकृति सम्बन्धमा पनि निर्णय भएको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पेश गरेको प्रदेश सरकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत गर्ने निर्णय गरिएको छ । सामाजिक विकास मन्त्रालयले पेश गरेको प्रदेश विकास स्वयम्सेवक परिचालन कार्यविधि, २०७५ पनि स्वीकृत गरिएको प्रवक्ता ढुंगेलले बताउनुभयो ।
बैठकमा मुख्यमन्त्री पौडेलसहित भौतिक पूर्वाधार विकास मन्त्री केशब स्थापित, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री अरुण नेपाल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, सामाजिक विकास मन्त्री युवराज दुलाल र प्रमुख सचिव आनन्दराज ढकाललगायत सहभागी हुनुहुन्थ्यो ।











प्रतिक्रिया