सीमा गस्तीमा सशस्त्र प्रहरी

0
Shares

किरन धामी, दार्चुला ।
चाडपर्व नजिकिए संगै सशस्त्र प्रहरी बलले नेपाल–भारत सीमानामा आफ्नो सक्रियता बढाएको छ । यो समयमा सिमा क्षेत्रमा हुन सक्ने सम्भावित अपराधिक गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले सिमा क्षेत्रमा आफ्नो सक्रियता बढाएको हो । आइतबार सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर दार्चुला नं. ५० गुल्मबाट सशस्त्र प्रहरी निरिक्षक ईस्वरी दत्त भट्टको कमाण्डमा २१ जनाको टोली जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिका तर्फ प्रस्थान गरेको गुल्मपति भिमबहादुर चन्दले जानकारी दिए ।

सिमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको टोलीले सीमा क्षेत्रमा हुने गरेको चोरी सिकारी, तस्करी तथा विभिन्न अपराधिक गतिविधि नियन्त्रण गर्ने गुल्मपति चन्दले जानकारी दिए । हरेक वर्ष यसै समयमा सीमा क्षेत्रहरुमा अवैध तथा अपराधिक गतिविधि बढ्ने भन्दै सिमामा टोली परिचालन गरिएको उनको भनाई छ । टोलीले सीमा क्षेत्रका सबै गातिविधिहरुको अध्ययन तथा अनुगमन गर्ने उनले जानकारी दिए । सशस्त्र प्रहरीले भारत संग सिमा जोडिएका जिल्लाका उत्तरी क्षेत्रमा पर्ने साविकका गाविसहरु हुती, धौलाकोट, सुन्सेरा, राप्ला र ब्याँसमा गस्ती गर्ने उनले जानकारी दिए ।

आइतबार जिल्ला सदरमुकाम खलंगाबाट हिडेको सशस्त्र प्रहरीको टोली ब्याँस गाउँपालिकाको केन्द्र सुन्सेरामा पुगेको गुल्मपति चन्दले जानकारी दिए । सशस्त्र प्रहरीले गस्तीको क्रममा सिमाको बस्तुस्तिथि, सीमाक्षेत्रका नागरिकले भोग्नु परेका समस्याका बारेमा जानकारी लिने जनाइएको छ । दार्चुलाको उत्तरी सीमा क्षेत्रमा राज्यको नियमित उपस्थिति नहुँदा वर्षेनी अवैध वन्यजन्तुको चोरी सिकारी, ओखेटोपहार तस्करी तथा अवैध गतिविधि हुने गरेका छन् ।