किरन धामी, दार्चुला ।
दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने दुहुँ गाउँपालिकामा बञ्जिजम्प सहितको बहुउद्देश्यि झोलुङ्गे पुल निर्माण हुने भएको छ । गाउँपालिकाको कालागाड खोला माथी निर्माण हुने बहुउद्देश्यि झोलुङ्गे पुलको लम्बाई ३ सय ७२ मिटर छ, भने २ सय ४० मिटर उचाई रहेको गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले जानकारी दिए । उक्त पुलले गाउँपालिकाको वडा नम्बर ५ र वडा नम्बर २ लाई जोड्ने जनाइएको छ ।
झोलुङ्गे पुल निर्माणको लागि दुहुँ गाउँपालिका र जगदम्बा दोभान संगम जेभीसँग आइतबार मात्रै सम्झौता भएको छ ।
पुल निर्माणको लागि जगदम्बा दोभान संगभ जेभीका प्रतिनिधि बसन्त बुढाथोकी र गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमरसिह महराले सम्झौतामा हस्ताक्षर गरेका छन् । पुल निर्माणमा कुल १ करोड ७६ लाख ९९ हजार रुपैयाँ लाग्ने गाउँपालिकाले जनाएको छ ।
गत आर्थिक वर्षमा टेण्डर भएको झोलुङ्गे पुल निर्माणको कार्य छिट्टै शुरु गर्ने गरी निर्माण कम्पनी संग सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महराले बताए । नेपालकै सर्वाधिक उचाई र लम्बाई रहेको पुल निर्माण गाउँपालिकाकै बजेटबाट गर्ने गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले बताए ।
पुल निर्माण पस्चात साहसीक खेल बञ्जीजम्पको लागी समेत उपयुक्त सम्भावना रहेको हेल्भेटास नेपालका प्रमुख इन्जिनियर ज्ञानेन्द्रराज भण्डारीले बताए । पुल निर्माण सम्पन्न पछि सो क्षेत्रका करीव ४ हजार जनसंख्या लाभान्वित हुने गाउँपालिकाले जनाएको छ । पुल निर्माण हुने स्थानमा निकै कडा खालको चट्टान रहेको तथा गहिरो गल्छी भएका कारण बञ्जीजम्पको लागी उपयुक्त मानिने पुल सर्वे गरेका हेल्भेटास नेपालका प्रमुख इन्जिनियर भण्डारीको भनाई छ ।











प्रतिक्रिया