पोखरा रंगशाला प्रवेशको लागि कार्ड चाहिने


विजय नेपाली, (नेस)
पोखरा रंगशालामा खेलाडी, खेल पदाधिकारी र अन्य सर्वसाधारण प्रवेश गर्नलाई अब कार्ड देखाउन पर्ने भएको छ ।

रंगशाला भित्र कुनै पनि बिकृती, घटना नघटोस भन्ने उदेश्यका साथै खेलाडी, पदाधिकारी तथा सर्वसाधारणको सुरक्षालाई लक्षित गर्दै कास्की जिल्ला खेलकुद विकास समितिले परिचय पत्र व्यवस्था गरेको हो ।

परिचयपत्रसँगै भौतिक सरंचनाको संरक्षण हुने विश्वास खेलकुद विकास समितिको छ । रंगशाला प्रवेसका लागि सर्वसाधारणले वार्षिक ५ सय, खेलकुद संघका पदाधिकारीका लागि १ सय र खेलाडीलाई ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । अब विना काम वा प्रवेश कार्ड विना रंगशालामा छिर्नेलाई बन्देज लगाईएको छ । रंगशालालाई व्यवस्थित बनाउने भन्दै कास्की जिल्ला खेलकुद बिकास समितिले परिचयपत्रको नाममा सर्वसाधारणलाई समेत छिर्न रोक लगाएको हो । सार्वजनिक स्थलमा प्रवेश गर्दा पनि पैसा तिर्नुपर्ने भन्दै सर्वसाधारणले भने गुनासो पोखेका छ्न ।

पास विना खेलाडी, खेल पदाधिकारी एवं सर्वसाधारणलाई रंगशाला परिसर भित्र प्रवेशमा रोक लगाउने निर्णय जिल्ला खेलकुद विकास समितिले गरेको हो । समितिले मंसिर १ गतेदेखि लागु हुने गरी काम थालेको छ ।

पास नलिएकोलाई रंगशाला प्रवेशमा रोक लगाईने छ । समितिले खेलाडी, खेल संघका पदाधिकारी, अन्य पदाधिकारी, रंगशालामा विहानी समयमा मर्निङ वाक गर्न आउने सर्वसाधारणका सबैको छुट्टाछुट्टै पासको व्यवस्था गरिएको कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष एवं नेपाल राष्ट्रिय तथा अन्तर्रा्िष्ट्रय खेलाडी संघ कास्कीका अध्यक्ष दिपकबहादुर गोदारले बताए ।

संघ र त्यसमा आवद्ध भएका खेलाडीको तथ्यांक राख्ने योजना अनुसार नै खेलाडी तथा पदाधिकारी एवं अन्य सर्वसाधारणलाई परिचय पत्रको व्यवस्था गरिएको उनले बताए । संकलित फर्मकै आधारमा खेलाडीको तथ्यांक भनेकै समयमा खोज्ने प्रविधि सफ्टवेयर नै बनाइएको समितिले जनाएको छ । कतिपय संघ, खेल पदाधिकारी तथा प्रशिक्षकहरुको फर्म भर्न ढिलाईले कार्ड निर्माणमा ढिलासुस्ती भएको खेलकुद विकास समितिले जनाएको छ ।

सामान्य पास मात्रै वितरण गर्दा परिचयपत्रको डुब्लिकेसन(चोरी) हुने भएकोले पनि खेलकुद विकास समितिले क्यु आर कोडको व्यवस्थासहित परिचयपत्र वितरण गरेकोे जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले बताए । अनिवार्य पासको व्यवस्था गरेपछि खेलकुद एवं रंगशालामा बढ्दै गएको बेथिति नियन्त्रण हुने विश्वास समेत खेलकुद विकास समितिले लिएको उनले बताए ।

पासको लागि समितिले सम्पूर्ण खेलकुद संघ, खेलाडी तथा खेलसंघका पदाधिकारीलाई जानकारी गराई सकिएको र फर्म अनुसार कार्डको निर्माण गर्दै वितरण गरिने छ ।