लिगको नयाँ मिति घोषणा


काठमाडौं, (नेस)
अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्थगित गरेको पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको पहिलो चरणको खेल तालिका सार्वजनिक गरेको छ ।

बंगलादेशमा जारी बंगबन्धु गोल्डकपका कारण स्थगित भएको लिगको नयाँ मिति आइतबार सार्वजनिक गरिएको हो । दुई खेलपछि डिफेन्डिंग च्याम्पियन नेपाल बंगबन्धु गोल्डकपका लागि बंगलादेश प्रस्थान गरेपछि केही समयका लागि लिग स्थगित गरिएको थियो । तर, नेपाल समूह चरणबाटै बाहिरिएर आइतबार स्वेदश फर्किएसँगै एन्फाले लिगको नयाँ मिति घोषणा गरेको हो ।

नयाँ तालिका अनुसार असोज २४ मा मच्छिन्द्र क्लबले च्यासल युथ क्लबको सामना गर्नेछ । यस्तै असोज २५ मा फ्रेन्डस् क्लबले थ्री स्टार क्लब तथा जावलाखेलले नेपाल पुलिस क्लबविरुद्ध खेल्नेछ । यसअघि ५ वर्षको लामो अन्तरालपछि सुरु भएको लिगको दोस्रो खेलमा संकटाले सरस्वती युथ क्लबलाई पराजित गरेपछि केहि समयका लागि स्थगित गरिएको थियो ।