नेपाल फराकिलो रनले विजयी


काठमाण्डौ, (नेस)
टी–२० विश्वकपको एसिया छनोट अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले थाइल्याण्डमाथि १ सय ४० रनको फराकिलो जित हात पारेको छ ।
वर्षाले प्रभावित खेलमा नेपालले थाइल्याण्डमाथि डीएल मेथडका आधारमा १ सय ४० रनको फराकिलो रनको जित हात पारेको हो । लगातार तेस्रो जितसँगै नेपाल समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

नेपालले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले ८.५ ओभरमा ९ विकेट गुमाएर मात्र १८ रन बनाउँदा वर्षा सुरु भएको थियो । उक्त खेलमा चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछाने एक्लैले ५ विकेट लिएका थिए । तीन ओभर बलिङ गरेका उनले एक मेडन राख्दै मात्र ८ रन खर्चिएका थिए । करण केसीले भने ३ विकेट लिए । १.५ ओभर बलिङ गरेका उनले मात्र २ रन दिएका थिए ।

यसअघि मलेसियाको बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो । नेपालका लागि करण केसीले इनिङ्स उकासे । उनले सर्वाधिक अविजित ४० रन बनाए । उनले १४ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै उच्च स्कोर बनाएका हुन् ।

त्यस्तै सोमपाल कामीले करणलाई राम्रो साथ दिदै ४ रनमा अविजित रहे । यसअघि नेपालका लागि शरद भेषवाकरले ३४ रन बनाए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ३० रन बनाएर आउट भए ।

अनिलकुमार शाहले २५ रन बनाए भने विनोद भण्डारी १५ र आरिफ शेखले ८ रन बनाए । यता, उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रनमा आउट हुदा कप्तान पारस खड्का ५ रनमै आउट हुन पुगे । थाइल्यान्डका लागि पायुपुथ सुङनार्डले ४ विकेट लिएका थिए ।