मिलन बने धर्मश्री विजेता


 

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल ब्यायाम मन्दिरका मिलन सिजापतीले १३औं धर्मश्री तथा ५० औं एशियन च्याम्पियनसिपका विजेता महेश्वर महर्जनललाई पछाडी पार्दै १५औं धर्मश्रीको उपाधि जितेका छन् ।

शनिबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको उपाधि भिडन्तमा मिलनले उपाधिकै दावेदारी सेप फिटनेसका महेश्वरसँग बाजी मारेका हुन् । ८० केजी माथीको तौलमा प्रतिस्पर्धा गरेका मिलनले नगद ५ लाखसहित ब्यानेट तथा ट्रफी प्राप्त गरे । ८० केजी तौल समूहका महेश्वरले नगद २ लाखमै चित्त बुझाए । तेश्रो स्थानमा ६५ केजी तौल समूहका ब्यायाम मन्दिरका राम बहादुर दाहाल रहे । उनले नगद १ लाख हासिल गरेका थिए ।

नेपाल ब्यायाम मन्दिरद्वारा आयोजित प्रतियोगितामा चौथो स्थानमा रहेर सेप टु ढल्कोका प्रवेश श्रेष्ठले ९० हजार नगद प्राप्त गरे । यस्तै पाँचौ स्थानमा रहेका संजीव श्रेष्ठले ८० हजार नगद हासिल गर्दा छैटो र सातौं स्थानमा रहँदै क्रमशः आशिष देवाजुले ७५ हजार र सुरेश खत्रीले ६० हजार नगद जिते । उनीहरु तीनै जना आयोजकका हुन् ।

बिजयी खेलाडीहरुलाई सम्माननिय उप राष्ट्रपती नन्द किशोर पुन पासाङ्ग, पूर्व रक्षा मन्त्री तथा साँसद भिमसेन दास प्रधान लगायतले पुरस्कार वितरण गरेका थिए । २०४२ सालमा १५ हजार पुरस्कार रासीबाट सुरु गरिएको धर्मश्री प्रतियोगिता १५ औं संस्करण सम्म आई पुग्दा शारिरीक सुगठनमा सर्वाधिक धनरासी पुरस्कार रहेको प्रतियोगिता भएको छ ।