‘पत्रकारको तलब ४० हजार बनाउने पक्षमा सरकार’

0
Shares

काभ्रे ।
नेपाल सरकारका प्रवत्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले श्रमजीवि पत्रकारहरुको पक्षमा रहेकाले श्रमजीविहरुको हक हितमा निरन्तर लाग्ने बताएका छन् । मन्त्री बाँस्कोटाले सरकारले श्रमिजिवी पत्रकारको पारिश्रमिक मासिक ४० हजार पु¥याउने योजनामा रहेको बताए ।


मण्डन देउपुर नगरपालिका ४ नयाँ गाउँमा आयोजित एक घर एक धारा कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले उक्त कुरा बताएका हुन् । मन्त्री बास्कोटाले नयाँगाउँको धारा उद्घाटन पछि जोखिमपूर्ण काममा खटिने पत्रकारको आर्थिक समृद्धिका लागि न्यूनतम पारिश्रमिक बढाउने पक्षमा रहेको बताए । बास्कोटाले भने– ‘मैले कसैको केही बिगारेको छैन, सबैको भलो नै चाहेको हो, पत्रकारको सुरक्षा र आर्थिक समृद्धिका निम्ति मेरो अभियान जारी नै रहन्छ ।’ मन्त्री बास्कोटा नयाँगाउँको धारा उद्घाटन गरे सँगै पाँचखालमा सुनकोशी बृहत्त खानेपानी आयोजनाको भेलामा सहभागि भएका थिए । त्यस लगत्तै मन्त्री बास्कोटा आफ्नै विश्वासिलो कृषि सहकारीको साधारण सभामा सहभागि भएका थिए ।

‘सरकार श्रमजिवी पत्रकारको पक्षमा छ, त्यसैले पत्रकारको न्यूनतम पारिश्रमिक बढाउन चाहान्छ’– उनले भने–‘ सञ्चार गृहका मालिकले भने पत्रकारको न्यूनतम पारिश्रमिक बढाउन चाहेका छैनन ।’ ‘कर्पोरेट मिडिया हाउस त्यसरी जान चाहदैनन्, तर अब सरकार लागू गर भन्ने पक्षमा उभिन्छ ।’ ‘नेपाल पत्रकार महासंघले नै पारिश्रमिक बढाउन चाहेको छैन’–उनले भने – ‘महासंघ नै श्रमजिवीको पक्षमा नभए कसको पक्षमा प्रतिनिधित्व गर्छ, तर सरकार पारिश्रमिक बढाउने पक्षमै छ ।’


मन्त्री बास्कोटाले अधिकारको लडाईं सकिएकाले निर्माणको समय शुरु भएको बताए । ‘कसैले आएर निर्माण गर्दिदैनन् तपाई हामी मिलेरै गाउँ, नगर र राष्ट्र बनाउने हो’– उनले भने– ‘कुनैपनि योजनाको जोखिम र फाइदाबारे सोचेर समयमै सक्नुपर्छ, समयमै नसक्दा समय र लागत बढछ् । मन्त्री बास्कोटाले पछिसम्मको पर्यावरणीय तथा मानवीय चापलाई मध्यनजर गर्दै स्थानीय तहले पानीको स्रोतको खोजी गरी सुरक्षा गनुपर्ने बताए । ‘पानीको खोजी र सुरक्षा गर्ने दायित्व सरकारको मात्रै हैन, सबै पक्षको हो’– उनले भने ।

अभिभावकत्व ग्रहण गरेका छात्रसँग भेटघाट
सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारको विद्यालय भर्ना अभियान अन्तर्गत बैशाख देखि अभिभाकत्व ग्रहण गरेका पाँचखाल नगरपालिका–१२ का रिजन दनुवारसँग उनकै घरमा भेटघाट गरेका छन् । भेटघाटका क्रममा मन्त्री बाँस्कोटाले शैक्षिक एवं स्वास्थ्यको वर्तमान अवस्थाका बारेमा रिजनसँग कुराकानी गरेका थिए । मन्त्री बाँस्कोटाको प्रश्नको जवाफमा रिजनले लजाउँदै भने ‘सधै पढ्न स्कुल जान्छु ।’ ५ बर्षका रिजन स्थानीय आजाद माध्यमिक विद्यालयमा कक्षा १ मा पढ्दैछन् ।

मन्त्री बाँस्कोटाले अभिभाकत्व सिमान्तृकत दनुवार समुदायका रिजनलाई गत बैशाखमा भर्ना गरी बर्षभरिका लागि आवश्यक पर्ने शैक्षिक सामग्री, पोशाक एवं खाजाको व्यबस्थापन गरेका थिए । ‘कक्षा १२ सम्म रिजनको पढाईको जिम्मा मेरो भैसक्यो’–मन्त्री बास्कोटाले भने ।