झाडु बोकेर सांसद नै सडकमा निस्किएपछि

0
Shares

 नानीराम नेपाल, सिन्धुपाल्चोक ।
नेपालीहरुको महान चाड विजयादशमी नजिकिएसँगै स्थानीय सरकार सरसफाईमा जुटिरहेका छन् । गाउँबस्ति र बजार क्षेत्रमा सरसफाईमा जुट्दै स्थानीय सरकारले दशैं भित्र्याउँदै छन् । स्थानीय तहले आयोजना गरेको सरसफाई अभियानमा साथ दिँदै प्रदेश सांसद नै झाडु लिएर सडकमा निस्किएका छन् ।

शनिवार विहान ३ नम्बर प्रदेशका अर्थ तथा विकास समितिका सभापति शरेस नेपाल झाडु बोकेर सडकमा उत्रिए । बलेफी गाउँपालिका–८ ले आयोजना गरेको बजार सरसफाई कार्यक्रमका प्रदेश सांसद नेपालसहित लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपाल, सशस्त्र प्रहरी वल सीमा सुरक्षा कार्यालयका एसपी नारायण श्रेष्ठ, नेपाली सेनाका क्याप्टेन अनिल रोकायसहित दर्जनौंको संख्यामा स्थानीय अगुवाहरु मुखमा मास्क लगाएर हातमा झाडु बोक्दै लामोसाँघु बजारमा निस्किएपछि स्थानीयवासी बजार सफाइमा जुटे ।

स्थानीय वुद्धिजीवीहरु तथा सामाजिक अगुवाहरु नै बजार सफाईमा झाडु बोकेर सडकमा निस्किएपछि स्थानीयवासी पनि सरसफाईमा जुटेका थिए । उनीहरुले लामोसाँघु बजारदेखि वनसाँघुसम्मको बजार उनीहरुले सफाई गरेका छन् ।

सडकमा जथाभावी राखिएका निर्माणसामाग्री लगायतका अन्य सामाग्री हटाइएको बलेफी गाउँपालिका ८ का वडाध्यक्ष चरिबहादुर तामाङले जानकारी दिए । स्थानीय क्लव, विद्यालय, सहकारीलगायतका सरोकारवालाको सहभागितामा बजार क्षेत्रलाई सफाई गरिएको अध्यक्ष तामाङले बताए ।

सरसफाईका क्रममा सडक मापदण्ड विपरीत निर्माण गरिएका भौतिक संरचनाहरुसमेत हटाइएको छ । वडाभित्रका बजारहरुलाई ‘ग्रीन ’ र ‘क्लीन’ बनाउनका लागि विशेष योजनाका साथ अघि बढ्ने वडाध्यक्ष तामाङले सुनाए ।