बलात्कारको मुद्दा खुल्दा रोनाल्डोलाई सकस


लन्डन, (एजेन्सी)
चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोमाथि बलात्कारको आरोपको पुरानो मुद्दा फेरि खोलिएको छ। अमेरिकाकी ३४ वर्षीया शिक्षिका केथरिन मायोर्गाले रोनाल्डोले सन् २००९ मा लास भेगासमा उनलाई बलात्कार गरेको आरोप लगाएकी हुन्। यो मुद्दा पहिला खारेज भइसकेको थियो। मायोर्गाले मुद्दा दायर गरेपछि पुरानो घटना पुन खुल्दा रोनाल्डोलाई यतिखेर सकस भएको छ।

सन् २०१० मा ३ लाख ७५ हजार डलर तिरेर रोनाल्डोले पीडितसँग यो मुद्दा भविष्यमा नखुलाउने सम्झौता गरेका थिए। तर मायोर्गाले ८ वर्षपछि मुद्दा दायर गरेपछि फेरि यो उनको घिनौना हर्कतलाई पुनर्जीवित तुल्याइन्। यसले रोनाल्डोको इमेज खराब हुन सक्ने पनि देखिएको छ। अहिले उनका प्रायोजक समेत के गर्ने भन्ने द्विविधामा रहेका छन्। यस्तै सोही मुद्दाका कारण पोर्चुगलबाट पनि खेल्न नसक्ने भएका छन्।

तर लास भेगासको एक होटलमा भएको सो घटनालाई युभेन्टसका पोर्चुगिज स्ट्राइकरले मनगढन्ते भएको उनको इन्स्टाग्राममा जवाफ दिएका छन्। ३४ वर्षीय रोनाल्डोले क्यामराअगाडि आएर उनका समर्थकहरूलाई भने– ‘नो, नो नो नो नो, आज उनीहरूले जे भनेका थिए ती झुठो—एकदम झुठो खबर हो। उनीहरू मेरो नाम प्रयोग गरेर लोकप्रिय बन्न चाहन्छन्। प्रसिद्ध नामसँग जोड्नु आजकल सामान्य कुरा बनेको छ। म एक सुखी व्यक्ति हुँ।’

यी जोडी लास भेगासको पाल्म्सको नाइट क्लबमा भेटिएका थिए। रोनाल्डो त्यतिबेला छुट्टी मनाइरहेका थिए। तस्वीरमा देखिएका थिए कि रोनाल्डो र मायोर्गा क्लबमा सँगै थिए। एउटा तस्वीरमा रोनाल्डोले मायोर्गाको हात समाएर कानमा खासखुस कुरा गरिरहेका थिए।
गत शुक्रबार अगस्ट २९ मा क्लार्क काउन्टी जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको दस्तावेजअनुसार फुटबलरले मायोर्गालाई निमन्त्रणा दिएका थिए। उनले हट टबमा बस्न भने पनि मायोर्गाले अस्विकार गरेकी थिइन्। किनभने उनी आफ्नो राम्रो लुगा बिगार्न चाहेकी थिइनन्। त्यसपछि रोनाल्डोले खेलाडीले लगाउने टि–सर्ट र सर्ट (हाफ पाइन्ट) दिएर बाथरुमतिर देखाउँदै उनलाई लुगा फेर्न आग्रह गरेका थिए। उनी लुगा फेर्न बाथरुम भित्र पसिन्।

अदालतको दस्तावेजमा उल्लेख गरिएअनुसार उनी लुगा फेरिरहेकी थिइन्। तब रोनाल्डो बाथरुममा आएर आफंै नांगो बनेर मायोर्गालाई सेक्स गर्न भने। दस्तावेजमा लेखिएको थियो– ‘मायोर्गाले यसलाई अस्वीकार गरेकी थिइन्। उनी छिटै होटल छाड्न चाहेकी थिइन्। तर रोनाल्डोले उनलाई तानेर पलंगमा लगेर सहवास गरेका थिए। सहवासबाट बच्न पीडितले धेरै नै संघर्ष गरेकी थिइन्। उनी चिच्याइरहेकी थिइन्– ‘नो, नो, नो। तर उनी स्टार खेलाडीबाट बलात्कार भइसकेकी थिइन्।’

८ वर्षपछि मुद्दा फेरि पीडितका वकिलले खुलाएको छ। त्यतिबेला मायोर्गाले कहिल्यै यो घटनालाई सार्वजनिक नगर्ने वचन दिनुमा उनी अपूर्णता र असक्षमता थिइन्। उनी मानसिक रूपमा तयार थिइनन्। यस्तो घटना सार्वजनिक भएमा उनको इमेज खराब हुने उनलाई डर थियो त्यतिबेला। उनी एकपटक आत्महत्या गर्न तम्सेकी थिइन्। ड्युटी गर्न पनि संघर्ष गरिरहेकी थिइन्।

हाल इटालीमा खेलिरहेका रोनाल्डोले दावी गरेका छन् कि मायोर्गालाई भौतिक रुपमा घाइते बनाउनुमा उनी नभै अर्का व्यक्ति थिए। अदालतको पत्रमा पनि नाम नखुलाएका व्यक्तिसँग पीडितले सम्झौता गरेको रोनाल्डोको दावी छ। यदि रोनाल्डो नै बलात्कारी सावित भएमा भने संसारकै आदर्श र धनी खेलाडीले जन्मकैदको सजाय भोग्नुपर्ने हुन्छ।

यस्तै रोनाल्डोका वकिलले सो घटना उल्लेख गरेको जर्मन म्यागेजिन डेर स्पीजेललाई मुद्दा हालेको छ। उनीहरूका अनुसार सो म्यागेजिनले गैरकानुनीरूपमा कथा पस्केको र व्यक्तिगत इज्जतमा धक्का लाग्ने गरेकाले गम्भीर विषय बनेको छ। यसैले मुद्दा हालिएको रोनाल्डोका वकिलले स्पष्ट पारेका छन्।