महेश्वर अन्तिम चरणमा


नेपाल समाचारपत्र
काठमाडौं
पूर्वधर्मश्री तथा एसियन च्याम्पियनसिप विजेता महेश्वर महर्जनले १५औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको अन्तिम चरणका लागि स्थान सुरक्षित गरेका छन्।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भएको प्रतियोगिताको ८० केजी तौल समूहमा प्रतिस्पर्धा गरेका सेप फिटनेस एन्ड जिम कालिमाटीका महेश्वर उपाधिनजिक छन्। उक्त तौल समूहमा उनीसहित विष्णु विक, सेप टु ढल्कोका उज्जल वज्राचार्य र विशाल कँडेल, फिटनेश स्टुडियोका प्रविन शाही र आयोजक नेपाल व्यायाम मन्दिरका जनम लामा रहेका छन्।

शहीद तथा व्यायामका अग्रज धर्मभक्त माथेमाको सम्झानामा २०४२ सालबाट आयोजना गरिएको प्रतियोगिताको अन्तिम चरणका लागि छनोट हुन सफल ५५ केजी तौल समूहका उज्जल जिम तथा जुम्बाका किशन दास दिवाकर, फ्लेक्स जिमका सुजन गुरुङ, बुटवल फिटनेसका सुनिल आले, मसल मेनियाका अवाज प्याकुरेल, नेपाल व्यायाम मन्दिरका डेभिड बलामी र सुरेश खत्री रहेका छन्।

त्यस्तै ६० केजी तौल समूहबाट फिटनेस स्टुडियोका गौरभ प्रसाद श्रेष्ठ, फिटनेस स्टारका यदु कुमार विश्वकर्मा, नेपाल व्यायाम मन्दिरका शैलेन्द्र कुमार शर्मा र सुजन तामाङ, ओम फिटनेसका मिनबहादुर चौधरी तथा नेपाल व्यायाम मन्दिरका आशिष देवाजु पनि छनोट भएका छन्। ६५ केजी तौल समूहमा मि. हिमालय रामबहादुर दाहाल छनोट भए।

शुक्रबार भएको प्रिजजिङ चरणबाट आ–आफ्ना प्रतिद्वन्द्वीलाई पछि पार्दै प्रत्येक समूहबाट ६ खेलाडीहरू अन्तिम चरणका लागि छनोट भएका हुन्।

अन्तिम चरणमा प्रत्येक समूहमा प्रथम स्थान हात पार्ने खेलाडीहरूले धर्मश्री उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। धर्मश्री विजेताले नगद ५ लाखसहित ट्रफी र ब्यानेटबाट सुसज्जित हुनेछन्। यस्तै दोस्रो हुनेले २ लाख, तेस्रोले १ लाख, चौथोले ९० हजार, पाँचौले ८० हजार, छैटौंले ७५ हजार र सातौं स्थान हात पार्नेले ६० हजार नगद, मेडल तथा अन्य पुरस्कार प्राप्त गर्नेछन्। यस्तै तौल समूहमा दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ३० हजार र २० हजारका साथै मेडल प्रमाणपत्र प्राप्त गर्नेछन्।