काठमाडौँ ।
आदिवासी जनजातिहरूमध्ये सबैभन्दा बढी जनसङ्ख्या भएको मगर जातिको परम्परा मानिने पुख्र्यौली लोकनाचलाई सुनिल रञ्जितले क्यानभासमा उतारेकाछन् ।
पुख्र्यौली नाचलाई मौलिक परम्परामा बाँचेको अध्ययन, अनुसन्धानबाट धेरै टाढा रहेको अमूर्त संस्कृतिको संवाहक मान्न सकिन्छ । क्यानभासमा पुख्र्यौली नाचमा नाच्ने गाउने कलाकारहरु छन् ।

उक्त नाचमा संलग्न कलाकारहरुको भावभंगिमा, वाद्य वादन, भेष भूषा र मञ्चको तयारी पनि भिन्न खालको तर मौलिकताले भरिपूर्ण रहेको हुन्छ ।
यस नाचलाई पुरानो नाच, बुढापाकाको नाच, सोरसोती उतार्ने नाच, हाई हाल्ने नाच, सोरठी जस्ता नामले चिनिन्छ ।
त्यस्तै यस नाचको प्रारम्भमा चोखो शरीर भएको मानिसको शरीरमा देवता उत्रिने र देवता चढेको व्यक्ति पुरुष होस् वा महिला, बेस्सरी काम्ने गर्दछन् ।
सुनिल रञ्जितका कुचीहरु एकै विषयमा केन्द्रित रहेर चित्रकलाको माध्यमबाट चर्चामा नआएको एउटा साँस्कृतिक धरोहरलाई चित्रित गर्न उद्यत छन् । सुनिल रञ्जितको मनमस्तिष्कमा पुख्र्यौली नाचको छाप बसेपछि चित्रकलाको एउटा श्रृंखलाको रुपमा प्रस्तुत हुन आएको छ ।

तीन चरणमा नाचिने यस नाचमा मुख्य मादलेको भूमिकामा हुने ‘गुरुबा’ हुन्छ । महिलाको पहिरनमा पुरुषहरू नाच्छन्, जसलाई मारुनी भनिन्छ भने हाई हाल्ने समूह जसलाई गीदाङ्गे भनिन्छ ।
यो नाच विभिन्न समयमा प्रस्तुत गरिन्छ् । विशेषतः जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कार, संस्कृति, आफ्नो जातीय पहिरन, गरगहना, चाडपर्व, मेला आदिमा यो नाच प्रस्तुत गरिन्छ ।
प्रस्तुत चित्रकला प्रदर्शनीको सन्दर्भ गाँस्दै कलाकार रञ्जित व्यक्त गर्छन– “कला समाजको परम्परा, संस्कृति, परिवेश र अझ देशकै प्रतिबिम्ब हो । कलालाई कलाको घेरामा मात्रै सीमित राख्न सकिँदैन । सामाजिक, सांस्कृतिक, प्राकृतिक एवम् धार्मिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने कार्यमा कला प्रभावकारी माध्यम बनाउन सक्छ । कला रचना गर्ने शैली जे जस्ता भए पनि विषयवस्तुमा नै हावा, पानी र माटोको सुवास छर्न सक्यो भने आफ्नोपनको अनुभूति प्रदान गर्छ ।”
वरिष्ठ कलाकारद्वय उत्तम नेपाली र शशि शाहबाट उद्घाटन गरिएको कला प्रदर्शनी सर्वनाम थियटरमा असोज २२ गतेसम्म खुल्ला रहने छ ।











प्रतिक्रिया